जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) द्वारा प्रतिपादित वैज्ञानिक र राजनीतिक विचारलाई माक्र्सवादी दर्शनको नामले चिनिन्छ । माक्र्सले राजनीतिदेखि इतिहास, कानुन, समाजशास्त्र तथा अर्थशास्त्रसमेतको गहन अध्ययन एवं अनुसन्धान गरे । प्रत्येक विषयको इतिहासदेखिको विश्लेषणात्मक र तुलनात्मक अध्ययन गर्नु पर्छ भन्ने उनको मान्यता थियो । माक्र्सको निजी आर्थिक जीवन कष्टपूर्ण रहे पनि उनकी श्रीमती जेनीले उनलाई जीवनभर साथ र सहयोग गरिन् । माक्र्सलाई जीवनभर साथ दिने अर्का व्यक्ति फेडरिक एङ्गेल्स (१८२०–१८९५) रहे ।
माक्र्सको प्रभाव विश्व राजनीतिमा अहिले पनि देखिन्छ । माक्र्सवादी राजनीतिक दर्शन तथा अर्थशास्त्र विश्वभरका सबै जसो विश्वविद्यालयमा अध्ययन/अध्यापन गरिँदै आएको छ । मजदुर तथा आमजनताको गाँस, बास र कपासको मुद्दालाई प्रधानता दिने राजनीतिक लाइनलाई यो दर्शनले बढी जोड दियो । सन् १८४८ मा माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र लेखेपछि भूराजनीतिमा नयाँ दर्शनको प्रादुर्भाव भयो । विश्वका मजदुर, किसान, सर्वहारा, शोषित र पीडितका लागि सङ्गठित भएर पुँजीपति र शोषकविरुद्ध आन्दोलन गर्नुपर्ने कुरामा माक्र्सको जोड रह्यो । माक्र्सले बेलायतको लन्डनमा बस्दा पुँजी नामको राजनीतिक अर्थशास्त्रको अनुसन्धानमा आधारित पुस्तक प्रकाशित गरे । विशेष गरी राजनीतिशास्त्र, इतिहास, कानुन आदि विषयमा अध्ययन र अध्यापन गराउँदा माक्र्सका रचना, विचार, मान्यता, मूल्य र दर्शनको अध्ययन गर्नु पर्छ ।
जर्मन दार्शनिक हेगेल (सन् १७७०–१८३१) ले प्रतिपादन गरेको आदर्शवादलाई ठ्याक्कै उल्टाएर माक्र्सले भौतिकवादको सूत्रपात गरे । जुन विज्ञान, भौतिकवाद र वस्तुवादी दर्शनमा आधारित रह्यो । आदिमकालीन मानव समाजमा आदिम साम्यवाद रहेको कुरा माक्र्सले उल्लेख गरे । समाजमा शोषक, सामन्त तथा पुँजीवादी शक्तिको उदयसँगै उद्योगी र पुँजीपतिले श्रमिकलाई शोषण गर्दै आफू थप धनी हुँदै जाने र श्रमिकले उत्पादन गरेको वस्तुमा अतिरिक्त मूल्य थपेर उनीहरूले चौतर्फी शोषण गर्ने माक्र्सको धारणा रह्यो । शोषण र दमनको अत्याचारबाट मुक्ति पाउन मजदुर, श्रमिक तथा किसानले पुँजीपतिविरुद्ध सङ्गठित भएर राजनीतिक लडाइँ लड्नुपर्नेमा उनी प्रस्ट थिए । समाजमा आर्थिक र सामाजिक विभेदको अन्त्यका लागि क्रान्ति गर्नुदेखि बाहेक अर्काे कुनै सूत्र नभएको माक्र्सले बताए । पुँजीपति, बुर्जवा र शोषकले बनाएका कानुन र प्रणालीलाई नै उखेल्नुपर्ने धारणा उनको थियो ।
सन् १८८३ मा माक्र्सको निधन भएपछि उनको दर्शनलाई विभिन्न प्रकारले बुझ्ने, व्याख्या गर्ने, लागु गर्ने र जनतामा प्रवाहित गर्ने तथा विचारसङ्ग्रह आदिको प्रकाशन र बिक्रीवितरणसम्बन्धी कार्यले तीव्र्रता पायो । तत्कालीन सोभियत सङ्घमा भ्लादिमिर लेनिन (सन् १८७०–१९२४) ले माक्र्सकै सैद्धान्तिक धरातलमा टेकेर सन् १९१७ मा तत्कालीन सोभियत रुसमा समाजवादी अक्टोबर क्रान्ति सम्पन्न गरे । सन् १९८९ सम्म चलेको समाजवादी व्यवस्था ढल्न पुग्यो । खास गरी माक्र्सले भनेका क्रान्तिका विचार र मान्यतालाई आफूखुसी व्याख्या गर्ने काम पनि गरिए । लेनिनका चेला जोसेफ स्टालिन (सन् १८७८–१९५३) द्वारा सन् १९३० मा सत्ता लिएपछि वर्ग दुस्मन (पिपुल्स इनिमी) खतम गर्ने भन्दै भटाभट लाखौँलाख विरोधीलाई मार्ने काम भयो । जुन माक्र्सको दर्शनविरुद्ध थियो । जसले क्रान्ति र दर्शनलाई कमजोर तथा बदनाम ग¥यो ।
उता फ्रान्समा सन् १८७१ मा आएको सत्ता अपरिपक्वताका कारण ७२ दिनमै ढल्न पुग्यो । समाजवादी मुलुक क्युबामा भने सन् १९६० मा भएको समाजवादी शासन सफलतापूर्वक सञ्चालित रहेको छ । चीनमा सन् १९४९ मा माओ (सन् १८९३–१९७६) को नेतृत्वमा ल्याइएको समाजवादी जनवादी गणतान्त्रिक शासन व्यवस्था निरन्तर चल्दै आएको छ । चीनले आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा आमूल परिवर्तनसमेत गरेको देखिन्छ । विशेष गरी सन् १९७५ मा नेता देङ्स्यायो पिङ (सन् १९०४–१९९७) ले सत्ता समालेपछि आर्थिक उदारीकरण र सुधारका नीति ल्याइएको हो । यसपछि चीनले आर्थिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा चमत्कार गर्दै आयो । उद्योग र व्यापार तथा आर्थिक समृद्धिको क्षेत्रमा चीन अमेरिकापछिको दोस्रो ठुलो मुलुक भएको छ । सन् २०४९ मा उसको समाजवादी सत्ताको एक सय वर्ष पूरा हुँदै छ । उसले ‘वान बेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनामार्फत विश्वमा आफ्नो प्रभाव बढाउन चाहेको देखिन्छ । पर्यटन ‘कनेक्टिभिटी’, समाजिक सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई व्यापक विस्तारसहित बहुपक्षीय हित वृद्धि गर्ने लक्ष्यमा चीन अगाडि बढेको छ । चीन आफ्नै मुलुकको इतिहास, आवश्यकता र क्रान्तिको भावनाबाट प्रेरित हुँदै आवश्यक परिवर्तन गर्दै अगाडि बढेको देखिन्छ । ‘हुम्यान राइट्स वाच तथा एम्नेस्टी इन्टरनेसनल’ लगायतका पश्चिमा मानव अधिकारवादी संस्थाले चीनमा मानव अधिकार नभएको भन्दै आलोचना गर्ने गरेको भए पनि चीनले त्यसलाई प्रतिवाद गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घमा भिटो (विशेषाधिकार) प्रयोग गर्न सक्ने अधिकार भएको चीन विश्वको ठुलो जनसङ्ख्या र सेना भएको मुलुक पनि हो ।
सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना र गठन गरिएपछि विश्वका मजदुरका हकहित, अधिकार, सुरक्षा, सुविधा तथा अन्य सामाजिक सुरक्षाका कुरामा समेत पुँजीपति र उद्योगीले सुविधा एवं सेवा वृद्धि गर्दै आएका छन् । सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएपछि सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरियो । त्यसमा मानिसका मानव अधिकार र सोसँग सम्बन्धित सबै जसो कुरा उल्लेख गरिएका छन् । मानव अधिकार मानव भएबापत सबैले पाउने न्यूनतम अधिकार भएकाले त्यो कुनै पनि मुलुक र समाजले रोक्न नमिल्ने मान्यता स्थापित भयो । सन् १९६६ मा राजनीतिक तथा नागरिक अधिकार तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई वटा अन्तर्राष्ट्रिय कानुन आएपछि मजदुर मात्र होइन, सबै मानिसका न्यूनतम राजनीतिक अधिकार तथा बाँच्नका लागि आवश्यक हुने न्यूनतम आर्थिक तथा सामाजिक अधिकार तथा हकहितको सुरक्षाको ग्यारेन्टी गर्न अन्तर्राष्ट्रिय कानुनको प्रबन्ध हुँदै आएको देखिन्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य मुलुक, सन्धि अनुमोदन गर्ने मुलुक तथा अन्य मुलुकले समेत सबैका हक र अधिकारको सुरक्षा गर्नैपर्ने स्थितिका कारण मजदुर, कामदार र सबैका अधिकारको बढी सम्बोधन हुन थालेका हुन् । यस दृष्टिकोणबाट कार्ल माक्र्सले तत्कालीन समयमा राखेको दार्शनिक विचार र लेनिनले लिएको क्रान्तिको मोडेललाई ‘कपी’ गर्दै गरिएका सबै क्रान्ति सफल नभए पनि माक्र्सको दर्शनको सान्दर्भिकता चाहिँ बढेको छ ।
सन् १९७५ देखि सन् २००९ सम्म कोलकाता (भारत) को सत्तामा रहेको माक्र्सवादी कम्युनिस्ट पार्टी त्यसपछि कहिल्यै सत्तामा फर्कन सकेको छैन । उता यही वर्ष श्रीलङ्कामा भएको राष्ट्रपति र संसद्को निर्वाचनमा चाहिँ माक्र्सवादी समर्थित उम्मेदवारले अकल्पनीय सफलता पाएका छन् । नेपालमा पनि माक्र्सवादी दर्शन र विचारधाराको प्रभाव सार्वजनिक बहसमा मात्र होइन, वैधानिक सत्ता राजनीतिमा समेत देखिएको छ । एमालेका तत्कालीन नेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त प्रतिपादन गरेपछि नेपाली राजनीति त्यसबाट प्रभावित हुँदै आएको छ । बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था, विधिको शासन, आवधिक निर्वाचन, मानव अधिकार, स्वतन्त्र निर्वाचन जस्ता आधुनिक प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरेको जबजको सान्दर्भिकता थप वृद्धि हुँदै गएको देखिन्छ ।
कार्ल माक्र्स भूराजनीति र भौतिकवादी दर्शनलाई प्रभाव पार्ने महान् दार्शनिक रहे । माक्र्सको विचार र दर्शन वैज्ञानिक तथा वस्तुवादी दर्शन हो । समाज विज्ञानको नियम, समाजमा हुने वर्गीय, राजनीतिक र सामाजिक द्वन्द्वको चरित्र जान्न माक्र्सवादी दृष्टिकोणको अध्ययन गर्नु अनिवार्य छ । माक्र्सको दर्शनलाई सूत्रमा लागु गर्न खोज्ने, जडसूत्र बनाउन खोज्ने र मुलुकको आफ्नो विशिष्ट आवश्यकताको ख्याल गर्न नसक्नेले इतिहासमा धक्का खानु परेको छ । माक्र्सको दृष्टिकोण र माक्र्सवादी दर्शनको सिर्जनात्मक व्याख्या तथा प्रयोग गर्ने मुलुक र समाज सबै दृष्टिबाट अगाडि बढेका छन् । चीनले माक्र्सवादको सिर्जनात्मक प्रयोग ग¥यो । त्यही कारण उनको शासन, प्रणाली र व्यवस्था सफल देखिन्छ । नेपालमा यसअघि नेता मदन भण्डारीद्वारा जनताको बहुदलीय जनवाद (जबज) मार्फत माक्र्सवादी दर्शनको सिर्जनात्मक प्रयोग गरियो । मुलुक र जनताको आवश्यकता, अवस्था तथा सान्दर्भिकता अनुसार माक्र्सवादलाई बुझ्नु पर्छ भन्ने जबजको दृष्टि रह्यो ।