अमृतप्रसाद पौडेल
म्याग्दी, पुस ८ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामग्रीहरु नष्ट गरिएको छ ।
बेनी बजार क्षेत्रका एउटा बेकरी उद्योग, ६ वटा होटल तथा चटपट पसल एवम् २३ वटा खाद्यान्न पसलको अनुगमन गरी म्याद गुज्रेका सामग्री तथा अखाद्य वस्तु नष्ट गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिसा आचार्यको नेतृत्वमा भएको बजार अनुगमनमा चटपट पसल अखाद्य रङ मिसाउने गरिएको तथा प्रयोग गर्नै नहुने खालको तेल चटपटमा मिसाएर बेच्ने गरेको पाइएकाले उक्त सामान जफत गरी नष्ट गरिएको छ ।
जेरी तथा समोसा बनाउन प्रयोग गर्ने तेलको गुणस्तर परीक्षण गरी कम गुणस्तरको पाइएपछि तेल पनि नष्ट गरिएको थियो । होटलहरुमा प्रयोग गर्ने सामानको गुणस्तर निरीक्षण गर्नुका साथै तारेर पकाइने खाद्यान्नका लागि प्रयोग हुने तेलको गुणस्तर मापन गरेर गुणस्तर कम भएको पाइएका स्थानबाट नष्ट गरिएको थियो ।
बजार क्षेत्रमा रहेका ३० वर्ष व्यापारीक फर्महरु अनुगमन गर्दा म्याद जुग्रेका सामग्री भेटिएको र त्यसलाई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख सहन्सा मेहताले जानकारी दिनुभयो । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा क्षेत्रमा गरिएको अनुगमनमा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, अर्कैको नाउको कागजात राखेर सञ्चालन गरेको भेटिएको थियो । त्यस्तै, अन्यत्र जिल्ला दर्ता गरेर म्याद गुज्रिसकेका फर्म देखाउँदै व्यवसाय गरेका जस्ता भेटिएको र उनीहरुलाई आवश्यक प्रक्रिया एक हप्ताभित्र पूरा गर्न निर्देशन दिएको उहाँको भनाइ छ ।
कतिपय खाद्य सामग्रीमा उत्पादन मिति लेखिएको भए पनि प्रयोग गर्न योग्य मिति नै उल्लेख नगरिएको सामग्रीहरु पनि पाइएको उहाँले जानकारी दिनुभयो । बेनी बजार क्षेत्रमा अनुगमन गर्दा लेज तथा कुरकुरे, फ्रुटी, सुजी, चाउमिन तथा बेकरीका केही आइटमहरु म्याद गुज्रेको पाएको र नष्ट गरेको उद्योग बाणिज्य संघ म्याग्दीका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।