• ८ पुस २०८१, सोमबार

दक्षिणकालीको खाडलमा खेल मैदान बनाउने तयारी

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस ८ गते । काठमाडौँ महानगरपालिकाले दक्षिणकाली नगरपालिका वडा नं. ७ मा रहेको ठूलो खाडलमा माटो भरेर खेल मैदान बनाउने तयारी गरिएको छ । 

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतकाअनुसार दक्षिणकाली नगरपालिका अन्तर्गत ठूलो क्षेत्रफलमा रहेक खाडलमा काठमाडौँ महानगरबाट माटो, गिटी ल्याउने र मैदान बनाउने विषयमा सकारात्मक रुपमा छलफल अघि बढेको छ ।

प्रमुख बस्नेतले भन्नुभयो, “सकारात्मक ढङ्गले काम गर्न पाइयो भने त्यहाँको जोखिम र खाडल पनि  पुरिनेछ। फोहोर बाहेकको सामान ढुङ्गा, गिटी, बालुवा, माटो आदि ल्याएर त्यो भर्ने हो । उता महानगरलाई पनि काम हुने यता पनि राम्रो हुन्छ भन्ने सकारात्मक छलफल भएको हो ।”

उहाँकाअनुसार यस विषयमा काठमाडौँ महानगर र दक्षिणकाली नगरपालिकाबिच नगरस्तरमा सम्झौता भने भइसकेको छैन । उहाँले भन्नुभयो, “मेयर स्तरमा चाहिँ एमओयु हुनुपर्ने त्यो भएको छैन । तर, यो गर्दा दुवै पक्षलाई हित हुन्छ भन्ने कुरासम्म चाहिँ पुगेको हो । औपचारिक तथा लिखितरुपमा फाइनल भएको छैन । यो डीपीआरको चरणमा छ ।”

उहाँले यो विषय छलफलको चरणमा रहीरहँदा माटो, गिटीबाहेक प्लाष्टिकजन्य फोहोर, कुहिएका, सडेगलेका चीज हुनुहुँदैन भन्ने विषयमा नगरपालिका पहिले नै सजग रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महानगरभित्रका खोला, खोल्सीका माटो, सडक, घर भत्काउँदा खेरीका सामाग्रीहरु भनेर उहाँहरुले भन्नुभएको छ । तर प्लाष्टिक, कुहिने, सडेगलेका फोहोर चाहिँ हुनुहुँदैन ।” यस्तै, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगर र नगरपालिकाबिच सम्झौता नभएको तर डीपीआर भने तयार भएको जानकारी दिनुभयो । 

प्रवक्ता मानन्धरले भन्नुभयो, “सम्झौता भएको छैन । डिपीआर तयार भएको छ । घर, सडक भत्काएको कङ्क्रिट दक्षिणकाली नगरपालिकाको ७ नम्बर वडाको खाडलमा तीन देखि सात वर्षसम्म भर्ने सम्भावना हुन्छ । त्यो भरेर माथि आइसकेपछि चाहिँ १४ रोपनी जति जग्गा बन्छ । त्यहाँ क्रिकेट ग्राउण्ड बनाउन खोजेको हो ।”