बोमलाल गिरी
नवलपुर, पुस ८ गते । सरकारले लक्ष्यअनुसार काम नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि नारायणघाट–बुटबल सडक विस्तारले थोरै आशा देखाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सरकारले दिएको पहिलो लक्ष्यअनुसार काम सुरु गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।
चाईना स्टेटलाई आगामी मङ्सिर २५ गतेभित्र सडकको एकतर्फी ७० प्रतिशत कालोपत्रे भएको हुनुपर्ने र दोस्रो सर्तमा मार्च मसान्त अर्थात् २०८२ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ ।
चाइना स्टेट कम्पनीले पहिलो सर्तअनुसार आगामी मङ्सिर २५ भित्र नारायनघाट–बुटवल सडक खण्डको कम्तीमा ७० प्रतिशत एकतर्फी काम सक्ने प्रतिबद्धता जनाएको प्रजिअ पोख्रेलले जानकारी दिनुभयो । सोहीअनुसार गत चैत महिनादेखि रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको छ ।
गत मङ्सिरको तेस्रो सातादेखि काम सुरु गरिएको भए पनि सोचे अनुसारको प्रगति नदेखिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले बताउनुभयो । ‘‘काम सुरु गरेको छ, कामदार पनि बढाएको छ, तर गति अझै नबढाएकाले गति बढावस् भन्ने हाम्रो चाहना हो,’’ आयोजना प्रमुख घिमिरेले भन्नुभयो, ‘‘यो काम गर्ने उपयुक्त मौसम भएकाले कामदार र औजार थप्न भनेकोमा ठेकेदार पनि सकारात्मक देखिएको छ ।’’
ठेकेदारले दैनिक तीन सय कामदार परिचालन गरेको बताए पनि दुई सयको हाराहारीमा कामदार खटिएको घिमिरेले बताउनुभयो । औजार र जनशक्ति बढाएर तीव्र गतिमा काम गरे पहिलो लक्ष्य पूरा गर्न कुनै समस्या नभएको आयोजनाको भनाइ छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पोख्रेलले थपिएको अवधिमा कम्तिमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने बताउनुहुन्छ । अहिलेसम्मको काम गराई हेर्दा त्योभन्दा बढी अहिलेको ठेकेदारबाट अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ ।
‘‘मङ्सिर १५ पछि ठेकेदार अलि सक्रिय भएर लागेको देखिएको छ,’’ प्रजिअ पोख्रेलले भन्नुभयो, जति सक्रिय भएर लाग्नुपर्ने हो त्यो त देखिदैन तर कामको सुरुवात गरेको छ । उनीहरुको काम गर्ने शैली र शक्ति हेर्दा तेस्रो पटक म्याद थपिएको साउन ८ भित्र कम्तिमा एकतर्फी सक्छ कि जस्तो देखिन्छ ।’’
चिनियाँ ठेकेदारले छलफलको क्रममा मध्य जनवरीदेखि कामले अलि गति लिने बताएको पोख्रेलले बताउनुभयो । अहिलेसम्म कामले गति नलिए पनि पुसको अन्त्यदेखि सडक विस्तारको काम तीव्र गतिमा हुने प्रतिवद्धता जनाएका कारण यस पटक एकतर्फी बाटो सकिने सम्भावना रहेको बताउनुभयो ।
१५ दिन पाँच घण्टा बाटो बन्द
दाउन्ने क्षेत्रमा कम्तिमा १५ दिन पाँच घण्टाका दरले बाटो खाली हुने अवस्था भएमा दाउन्ने पश्चिमको खण्ड एकतर्फी सक्ने ठेकेदारले बताएको छ । प्रजिअ पोख्रेलले जिल्ला प्रशासन कार्यालय नवलपरासीसँग पनि समन्वय गरेर बढी ट्राफिक जाम नहुने समय पारी बाटो बन्द गरेर विस्तार गर्न लगाइने बताउनुभयो ।
आयोजनाको पूर्वी खण्डका प्रमुख घिमिरेले पनि कहिलेदेखि कतिबेला बाटो बन्द गर्ने भन्ने विषयमा दुबै जिल्लाका प्रतिनिधि बसेर निर्णय गरिने बताउनुभयो । चिनीयाँ पक्षले पहिले नगद प्रवाहमा समस्या भएको बताउने गरेपनि अहिले त्यो समस्या नभएको बताउने गरेको छ । यसले गर्दा पनि पहिलो लक्ष्य पूरा हुने देखिएको छ ।
यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।
२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर ६ वर्षमा झण्डै ५४ प्रतिशत मात्र काम गरेर आलटाल गरेपछि सरकार सम्झौता तोड्ने तयारीमा पुगेको भन्दै चेतावनी दिएको थियो ।
तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुबै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।