बिन्दु थापा
पाल्पा, पुस ८ गते । तानसेन खानेपानी उपभोक्ता समिति पाल्पा तानसेनले अनलाइनमार्फत पनि खानेपानीको महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । उपभोक्तालाई सहज बनाउने उद्देश्यले खानेपानीको महसुल बुझाउन कार्यालय जानुनपर्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार खानेपानीको महसुल बुझाउन ग्राहकले कार्यालयमा धाइरहनु नपर्ने गरी इ–सेवाको सुरुआत गरिएको एक वर्षभन्दा बढी भएको छ । अनलाइनमार्फत सेवा लिनेहरुको सङ्ख्यामा उल्लेख्य सहभागिता छ ।
खानेपानी ३० हजारभन्दा बढी ग्राहक छन् । उहाँहरुलाई सहजताका लागि इ–सेवा फोनपे प्रालिसँगको समझदारीमा यो सेवा दिन लागिएको हो । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कार्यक्रम लागू गरिएको श्रेष्ठले बताउनुभयो । अनलाइन सेवामार्फत ५० प्रतिशत सेवाग्राहीलाई सेवा दिने लक्ष्य रहेको छ ।
तानससेन नगरपालिकाभित्र सेवा दिने उद्देश्यका साथ सञ्चालनमा रहेको खानेपानी उपभोक्ता समितिले अहिले नगरको १ नं वडादेखि २, ३, ४, ५, ६, ७ र ११ नं वडासम्म सेवा दिँदै आएको छ ।
पानी प्रशोधन गरी पिउन योग्य बनाउँदै आएको छ । समितिबाट दुई प्रकारका धारा वितरण गर्दै आएको छ । जसमा निजी धारा र संस्थागत धाराको प्रयोग भइरहेको तानसेन खानेपानी उपभोक्ता समितिका सचिव प्रेमबहादुर मल्लले बताउनुभयो ।