• १० माघ २०८१, बिहिबार

सञ्चालक सेयर बिक्री व्यवस्था सच्याउन माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बेच्न नपाउने व्यवस्था अव्यावहारिक भएको जनाएको छ । सङ्घले त्यसबारे नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको जनाएको हो । 

सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारण सभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित छैन ।”

सङ्घका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सो प्रावधान सच्याउन आग्रहसमेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकको वित्तीय स्वार्थमा कुनै फरक नरहेको अध्यक्ष मल्लले बताउनुभयो ।

सञ्चालकले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट उनीहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको सङ्घले उल्लेख गरेको छ ।

कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो । 

सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्द छौँ ।”

सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानीसमेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।