• ७ पुस २०८१, आइतबार

शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान साहित्यकार डा.उदासीलाई

blog

साहित्यकारलाई पुरस्कृत तथा सम्मान गरिंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ७ गते । शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

नेपाली साहित्य तथा समालोचना क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनुभएकाेमा डा. टिकाराम उदासीलाई नगद दस हजार रुपियाँसहितको शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरिएको शाश्वत स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा जनार्दन आचार्यले बताउनुभयो । उहाँले सोही कार्यक्रममा समाजसेवी नील सागरकी संस्थापक सरिता खनाल, स्वास्थ क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए बापत डा. दुर्गा प्रधान (मरोणापन्त) र डा. बिनोद खेतानलाई पनि शाश्वत स्मृति सम्मानद्वारा सम्मान गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य प्राज्ञ महानन्द ढकालले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई खादामाला, दोसल्ला, नगद तथा सम्मानपत्रद्वारा सम्मान गर्दै राम्रो कामको एक न एक दिन मूल्याङ्कन हुने बताउनुभयो । सो कार्यक्रममा डा. टिकाराम उदासी तथा डा. विनोद खतानले मन्तव्य राख्नु भएको थियो । 

सो अवसरमा साहित्यकारहरु नरेन्द्रनाथ योगी, नवीन अभिलासी, चरित्रा शाह, एम रेग्मी, चन्द्रावती अधिकारीले कविता वाचन गर्नु भएको थियो भने कार्यक्रममा प्राज्ञ हरि तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भन्डारी, कोहलपुर बाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजाल, साहित्यकारहरु किरण आचार्य, बिष्णु पादुका, भरत रानाभाट, भिम बहादुर शाही, मणि अर्याल, कल्पना पौडेल, बद्री ढकल हिरामणि, खोपीराम ओली, खगेन्द्र गिरी कोपिला लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।