• ७ पुस २०८१, आइतबार

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

blog

घोराही (दाङ),  पुस ७ गते ।  यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहनुभएको छ । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उहाँको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उहाँले भन्नुभयो । आफ्नै खर्र्चमा गाउँ–गाउँ पुग्ने गरेको उहाँ बताउनुहुन्छ । 

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गर्नुभयो । “हामीले दुःखमात्र गरेका छाँै, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार,  खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताउनुभयो । “घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनाँै”, उहाँले भन्नुभयो, “वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।” 

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहँुच नहँुदा काम गर्न समस्या भएको बताउनुभयो । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताउनुभयो । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उहाँले बताउनुभयो । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, “हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।” 

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । रासस