आज विश्व ध्यान दिवस । भर्खरै संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिख अथवा विश्वको वर्ष भरिको सबैभन्दा छोटो दिन, आजलाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएको छ । म यसमा खुसी व्यक्त गर्न चाहन्छुु र संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद भन्न चाहन्छुु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेर्रेसलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छुु ।
आजको यस दिवसलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गराउनका लागि जो जति महानुभावको जुन जुन प्रकारको, मात्राको योगदान छ, यथोचित सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छुु । सबै धन्यवादका पात्र हुनुहुन्छ ।
हामीले नेपाललाई निरोगी नेपाल बनाउने भनेका छौँ । पहिलो कुरा बिरामी हुने र उपचार गर्नुभन्दा अगाडि भरसक उपचार गर्न नपरोस्, निरोगी र स्वस्थ रहौँ, आरोग्य रहौँ र बिरामी भएर भरसक अस्पताल जान नपरोस् । यद्यपि विभिन्न अवस्थामा अस्पताल अनिवार्य हुन्छ । कहिले कहिले आकस्मिक दुर्घटना भइदिन्छन्, त्यस्ता अवस्थामा अस्पताल जानुपर्ने हुन्छ र उपचार गराउनुु पर्ने हुन्छ । गर्भावस्थाका समस्या हुन्छन्, बालबालिका वा बुढ्यौली उमेरगत समस्या हुन्छन् र कहिले कहिले मौसमी समस्या हुन्छन् । त्यस्ता समस्याबाट कहिले कहिले अस्पताल जानपर्ने अवस्था बन्छ तर उमेरमै अकारण हामीले आफ्नो दिनचर्या, आफ्नो जीवनशैली, आफ्नो जीवनपद्धति त्यसलाई उपयुक्त ढङ्गले नचलाएर निम्त्याउँछ कहिले कहिले बिमारी र ती बिमारीले हामीलाई खर्च पनि गराउँछन्, दुःख पनि दिन्छन् । त्यस कारण यहाँ गुरुजीले पनि भन्नुभयो, “मेरो स्वास्थ्य मेरो हातमा छ, मेरो आरोग्य मेरो हातमा छ । मेरो खुसी मेरो हातमा छ । मैले सिर्जना गर्न सक्छु मेरा लागि खुसी । म प्रसन्न रहन सक्छु, प्रसन्न रहनका लागि खर्च गर्नु पर्दैन । औषधीका ट्याब्लेट खानु पर्दैन ।”
हामी आरोग्य रहनका लागि सबैभन्दा पहिले हामीले आफ्नो मनस्थितिलाई ठिकमा राख्नु पर्छ, आफ्नो मानसिक अवस्थालाई ठिक राख्नु पर्छ । आज दुनियाँको एउटा भयानक समस्या मानसिक समस्या भएको छ । देखिने मानसिक समस्या र परोक्ष मानसिक समस्या, जसले मानसिक रूपमा प्रकट नभएर शारीरिक रूपमा प्रकट भइराखेका हुन्छन् । त्यस्ता समस्याबाट हामी ग्रसित भइराखेका छौँ । आज दुनियाँग्रस्त छ । नयाँ पिँढी अनेक हिसाबले ग्रस्त छ । यस्तो अवस्थामा हामीलाई शारीरिक तन्दुरुस्ती, मानसिक तन्दुरुस्ती, चिन्तनमा तन्दुरुस्ती र हरेक चिजमा स्वस्थ्य रहनु आवश्यक छ ।
हामी नेपाली एकजुट हुनु पर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नु पर्छ, सामाजिक समानता कायम गर्नु पर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नु पर्छ । ध्यानले, योगले यस भावनालाई, यस व्यवहारलाई र अभ्यासलाई राष्ट्रव्यापी रूपमा एकताको भावनाद्वारा अगाडि बढाउन मद्दत गर्छ ।
हामी स्वस्थ्य समाज, स्वस्थ्य देश र स्वस्थ्य विश्व निर्माण गर्न चाहन्छौँ । हामी शान्तिमय विश्व निर्माण गर्न चाहन्छौँ । यसका निम्ति योग र ध्यान जस्ता कुरा महत्वपूर्ण छन् ।
हाम्रा शरीरमा विकृत इनजाइमहरू पैदा हुन नदिन र स्वास्थ्यका लागि सकारात्मक इनजाइमहरू उत्पादन गर्नका लागि सकारात्मक सोच पैदा गर्नु पर्छ । सकारात्मक सोच मनको स्थिरता, धैर्य, शान्तभाव, प्रसन्नता जस्ता कुराले सकारात्मक इन्जाइम पैदा गर्छ । त्यस कारण योगमा हाँस्न सिकाइन्छ, खुसी हुन सिकाइन्छ, प्रसन्न हुन सिकाइन्छ । यो अत्यन्त उपयोगी छ ।
हाम्रा पूर्वजले धेरै हजारौँ वर्ष अगाडि आविष्कार गरेका हुन् र यसलाई सूत्रबद्ध गरेका हुन् । वास्तवमा यो ध्यान भनेको समस्याको समाधान हो । जब मान्छे समस्यामा पर्छ, अनि उसले सोच्न थाल्छ, एकाग्रताका साथ सोच्न थाल्छ, एकाग्रताका सोच्नु ध्यान हो । यो समस्याबाट म कसरी उम्किन सक्छु, यो बिरामी भयो भने म यसबाट कसरी उम्किन सक्छु, केही झन्झट आयो भने यसबाट म कसरी मुक्त हुन सकुँला, मनस्थितिमा, मस्तिष्कमा र मनमा तनाव आयो भने, त्यस तनावबाट म कसरी मुक्त हुन सकुँला भनेर मान्छेले सोच्छ । त्यही मात्रै पनि ध्यान हो । ध्यान प्राकृतिक ढङ्गले सचेत मानिस जातिमा धेरै ठुला सभ्यताभन्दा अगाडि ध्यान आयो र ध्यानले सभ्यता सुरु गरायो । सभ्यताको मुहान भनेको ध्यान हो, मान्छेको चिन्तन हो । मान्छेले सोच्यो, सोच्नका लागि एकाग्रता चाहिन्छ, ध्यान गर्नु पर्छ र कुनै विषयमा केन्द्रित गर्नु पर्छ । यसरी हामी समस्याको समाधान प्राप्त गर्न सक्छौँ ।
आज विश्व समस्याग्रस्त छ । युद्धको सन्त्रास छ । लडाइँ भइरहेका छन्, मानिस मरिरहेका छन्, निर्दोष बालबालिका मरिरहेका छन्, बुढाबुढी मरिरहेका छन्, अस्पतालका बिरामी मरिरहेका छन् । अत्यन्त निर्ममताका साथ अहङ्कारलाई अगाडि बढाइएको छ । ध्यानले अहङ्कारलाई खरानी बनाइदिन्छ । त्यस कारण विश्वमा शान्ति ल्याउनु छ भने अहङ्कार समाप्त पार्नु पर्छ । एउटा हतियारधारीलाई अर्को हतियारधारीले अहङ्कार जुधाएर शान्ति हुने होइन । अङ्गुलीमाललाई बुद्धलाई उपदेशबाट सानु अनुयायी बुद्ध बनाएका थिए । आगोमा आगो थपेर आगो निभ्दैन । आगोमा पानी हाल्नु पर्छ अथवा कार्बनडाअक्साइड छ्यापिदिनु पर्छ, अनि मात्रै आगो निभ्छ । त्यो भनेको ध्यान हो, त्यो भनेको योग हो । यसले उपचार गर्न सक्छ ।
सबैभन्दा पहिले हामी शारीरिक र मानसिक रूपले निरोगी रहनु पर्छ । हाम्रो जिमखानाले शारीरिक रूपले स्वस्थ रहन सिकाउँछ, मसलदार बनाउन सिकाउँछ, स्टामिन भएको मान्छे बन्न सिकाउँछ तर मानसिक स्टामिना कति छ त्यो हेर्नु पर्छ । मानसिक टिकाउपन, मानसिक दह्रोपन, मानसिक आत्मविश्वास र म केही गर्न सक्छु भन्ने भावना योग र ध्यानले सिकाउँछ ।
योगप्रति म ऋणी छुु, यस कारण कि भूमिगतकालमा पनि तन्दुुरुस्ती राख्यो र जेलका कठिन दिन गोलघरका कुज्जिएर एउटा सानो ठाउँमा बस्नुु पर्ने ठाउँमा पनि योग जस्ता कुराले मलाई तन्दुुरुस्ती दिन र सधैँ स्वस्थ रहन, सधँै सकारात्मक सोच राख्न र सधैँ मनोबल उच्च राख्न मद्दत गरेको थियो ।
हाम्रो यस भूभागबाट सुरु भएका दुई वटा दिवस वर्षभरिको सबैभन्दा लामो दिन योग दिवस मनाउने गरेका छौँ र सबैभन्दा छोटो दिनलाई हामीले ध्यान दिवस मनाउने गरेका छौँ । आजबाट ध्यान दिवस मनाउन सुरु भयो, विश्व ध्यान दिवसका रूपमा ।
म एउटा कुरा भन्न चाहन्छु, हामीले आज ध्यान दिवस मनायौँ तर आज मनाएपछि घर फर्कियो, सिद्धियो, अर्को साल डिसेम्बर २१ टुँडिखेलमा भेला हौँला, त्यहाँसम्म ध्यान दिवस बिर्सिएला, त्यो होइन । आजदेखि हरेक दिन हाम्रा ध्यान दिवस हुनु पर्छ । हरेक दिन हाम्रो ध्यान दिन हुनु पर्छ । हरेक बिहान ध्यान बिहान हुनु पर्छ । ध्यानबाट जीवनको सुरुवात गरौँ, दिनको सुरुवात गरौँ । सकारात्मक चिन्तनबाट दिनको सुरुवात गरौँ । ध्यान भनेको सकारात्मक चिन्तन सुरु गर्ने माध्यम हो । त्यसबाट दिनको सुरुवात गरौँ । सकारात्मक सोचले सकारात्मक कार्यतर्फ हामीलाई मार्गदर्शन गर्छ । त्यसबाट हामी अगाडि बढौँ ।
हामीले ध्यानलाई, योगलाई आफ्नो जीवनपद्धति बनाउनु पर्छ । दैनिक जीवनको दिनचर्या बनाउनु पर्छ । यो योगीहरूको मात्रै काम होइन, योगीहरूले मात्रै यसको प्रचार गर्ने होइन । हामी हरेक प्रचारक पनि हौँ, हामी हरेक यसलाई कार्यान्वयन गर्ने र अपनाउने यसका अभियान्ता पनि हौँ । हामी सबै कुरा हौँ । यसलाई अपनाउने व्यक्ति पनि हामीहरू नै हौँ । तसर्थ, योगीलाई संसारसँग धेरै मतलब नहोला, अरू थुप्रै कुरासँग मतलब नहोला । तपाईंलाई त सकारात्मक सोचको योगीलाई भन्दा धेरै बढी महìव छ किनभने तपाईंले छोराछोरी हुर्काउनु पर्छ । विषाख्त वचन बोल्दिनुभयो भने छोराछोरीलाई कस्तो असर पर्छ ? विषाख्त वचन बोल्दिनुभयो भने तपाईंले स्तनपान गराउँदा त्यसमा खराब इन्जाइम मिसिएका हुन्छन् र त्यो बच्चामा जाँदा बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पार्छ । पारिवारिक जिन्दगी बिताउनेहरूलाई झन् बढी, सांसारिक जीवन बिताउनेहरूलाई झन् बढी आवश्यक छ । योगीहरूले किन कोसिस गरिरहनुभएको छ, किन योग भनिरहनुभएको छ, किन ध्यान भनिरहनुभएको छ भन्दा आफ्ना लागि होइन, त्यो तपाईं हाम्रा लागि हो ।
हामीले एकअर्काप्रति विद्धेषभाव घृणा फैलाउने होइन, एकअर्काप्रति माया, ममता, करुणा, प्रेम र स्नेह फैलाउने हो । पहिलो कुरा हामी मान्छे हौ । त्यसपछि अरू कुरा आउँछ । हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नु पर्छ । पहिलो कुरा हामी नेपाली हौँ । हामी नेपाली एकजुट हुनु पर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नु पर्छ, सामाजिक समानता कायम गर्नु पर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नु पर्छ । ध्यानले, योगले यस भावनालाई, यस व्यवहारलाई र अभ्यासलाई राष्ट्रव्यापी रूपमा एकताको भावनाद्वारा अगाडि बढाउन मद्दत गर्छ । तसर्थ, यस दिवसलाई एउटा औपचारिक दिवसका रूपमा मात्रै होइन, यसलाई वास्तविक जीवनपद्धतिको रूपमा अपनाउने दिवसका रूपमा लिनु पर्छ । यसलाई मार्गदर्शक दिवसका रूपमा, समाजलाई शान्ति र सकारात्मकताको सद्भाव, मेलमिलाप, मित्रता र मेललिपा फैलाउने दिनको रूपमा र हरेक ३ सय ६४ दिनलाई लगातार नेतृत्व गरिरहने र अर्को वर्षको ध्यान दिवसमा म यहाँ उभिएर बोल्दा यो यो उपलब्धि यस वर्षमा हामीले गर्न सक्यौँ भन्ने उद्देश्यका साथ हामी यसलाई अगाडि बढाउँछौँ ।
ध्यान यसै वैज्ञानिक छ । यसलाई वैज्ञानिक बनाएर वैज्ञानिक बन्ने होइन, यो आफैँ वैज्ञानिक छ । जसलाई हामीले बुझ्न मात्रै जरुरी छ । यसलाई सूत्रीकृत गर्ने काम शिवले गर्नु भयो । त्यहाँदेखि ध्यान र योग जस्ता कुरा आए । त्यसपछि अनेक ध्यानीले, योगीले, ऋषिमुनि, महर्षिहरूले यस्ता अभ्यासलाई अगाडि बढाए र चिन्तनका क्षेत्रमा ठुलाठुला आविष्कार गरे । गणित कसरी पैदा भयो ? ध्यानबाट गणित पैदा भयो । खगोलशास्त्र कसरी बुझे ? गणितको माध्यमबाट, गणितले हिसाब गरेर पृथ्वी के हो, चन्द्र के हो, सूूर्य के हो, अन्तरिक्ष के हो, आदि सबै कुरा कसरी बुझ्यो ? ध्यानको माध्यमबाट ज्ञान प्राप्त गरियो, ज्ञानले अरू सबै बुझ्ने कुराको ढोका खोल्छ । त्यस कारण ज्ञानको पहिलो प्रस्थान ध्यान हो । क को अक्षर बनाउने कसरी होला, ए को अक्षर बनाउने कसरी होला ? त्यो नसोचिकन, ध्यान नगरिकन कसैले प्राप्त गर्दैन । त्यो ध्यानबाटै प्राप्त गरेको हो । ज्ञानको मुहान नै ध्यान हो । नसोचिकन ज्ञान प्राप्त हुँदैन ।
मैले अघि नै भनेँ, यहाँ उपस्थित हुनुभएका र यहाँ उपस्थित नहुनु भएका पनि सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई म आग्रह गर्न चाहन्छु, हामी ध्यान र योगलाई आफ्नो दिनचर्या बनाऔँ, आफ्नो जीवनशैली बनाऔँ र जीवनपद्धति बनाऔँ । ध्यानलाई हामी आफ्नो दिनचर्याको अभिन्न अङ्ग र एकदमै प्राथमिक अङ्ग बनाऔँ । यसरी ध्यान गर्ने मान्छे साँच्चै ध्यान गर्छ भने नत्र आँखा चिम्लिएर कसलाई कसरी बिगार्ने, कसको सम्पत्ति कसरी लिने यस्ता कुरा सोच्नेतर्फ लाग्यो भने त्यो झन् विकृततर्फ जान्छ । त्यस कारण ध्यान भनेको सकारात्मक सोचका साथ, सकारात्मक उद्देश्यका लागि गरिने हो भन्ने हामीले बुझ्नु पर्छ र त्यसै हिसाबले ध्यानलाई अगाडि बढाउनु पर्छ ।
साथीहरू र योगीजीहरूले केही सुझाव दिनुभएको छ, म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु । अघि साथीहरूले हात उठाएको बेला र ताली बजाएको बेला मैले बजाइन, किनभने म निर्णय गर्ने ठाउँमा छु । मैले ताली बजाएँ भने निर्णय भयो । बाँकी प्रक्रियागत कुरा, कानुनी कुराहरू, मन्त्रीपरिषद्मा लाने कुराहरू, संसद्मा लाने कुरा नलगी मैले यहाँ ताली बजाएँ भने त्यो ताली तपाईंहरूलाई झुक्याउन बजाएको ताली हुन्छ । मैले ताली बजाउने होइन, काम गरेर परिणाम निकाल्नु पर्छ । तसर्थ, म काममा विश्वास गर्ने मान्छे हुँ । कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने मान्छे हुँ र म आफैँ पनि योग ध्यान जस्ता कुरामा अलिक अभ्यस्त हुनु पर्छ । त्यसको मर्म र भाव अनुसार योग र ध्यान गर्नु पर्छ भन्ने व्यक्ति हुँ ।
मैले अप्ठ्यारा दिनमा योगबारे अलिकति सुनेँ र योगबारे अलिकति हेर्ने र पढ्ने मौका पाएँ । विसं २०२६ तिर म केही समय भूमिगत भएको थिएँ । त्यसबेला पञ्चायतकाल थियो, प्रहरीले लखेटेको लखेट्यै गर्दथ्यो । केही समय भूमिगत भएको थिएँ । घरभित्र छाप्रामा बस्नुपर्ने, दिन कसरी काट्ने समस्या हुने । दिन त पढेर, कविता लेखेर वा अरू केही गरेर काँटौँला तर हामी त्यत्ति बेलाको युवा त कुद्न पर्दथ्यो । कुद्न पर्ने युवालाई दिनरात घरभित्र बसिरहनु पर्दा साह्रै अप्ठ्यारो हुन्थ्यो । चञ्चल युवालाई मुस्किल पर्दथ्यो । त्यस कारण शारीरिक तन्दुस्ती राख्न व्यायम मात्रै गर्दा पनि अलिक सन्तुष्टि भएन । त्यसपछि म लुकेर बनारस पुगेर योगको एउटा किताब किनेँ, त्यो सानो पुस्तिका थियो । त्यसबाट केही प्राणायाम र आसनहरू मैले सिकेँ । मलाई त्यो उपयोगी भयो । त्यो मलाई जेलमा पनि काम लाग्यो । योगप्रति म ऋणी छु, यस कारण कि भूमिगतकालमा पनि तन्दुरुस्ती राख्यो र जेलका कठिन दिन गोलघरका कुज्जिएर एउटा सानो ठाउँमा बस्नु पर्ने ठाउँमा पनि योग जस्ता कुराले मलाई तन्दुरुस्ती दिन र सधैँ स्वस्थ रहन, सधैँ सकारात्मक सोच राख्न र सधैँ मनोबल उच्च राख्न मद्दत गरेको थियो । अरू पनि थुप्रै कारण होलान् म बचेर आउनका लागि तर पनि यसले पनि जेलबाट म बचेर आउन मद्दत ग¥यो । मेरो आफ्नै अनुभवले पनि म भन्छु, योग र ध्यान जस्ता कुरा आसन शरीरका लागि, प्राणायम शरीर र मस्तिष्कका लागि, ध्यान मस्तिष्कका लागि हो र यी कुराहरू अत्यन्तै महत्वपूर्ण छन् । यसलाई अपनाएर जाऔँ ।
सरकारको तर्फबाट के के गर्नु पर्छ, विद्यालय र नयाँ पिँढीसम्म कसरी योग र ध्यानलाई पु¥याउने, यस सम्बन्धमा सरकारको ध्यान जानु पर्छ र साथीहरूले अझ त्यसमाथि ध्यानकर्षण गर्नुभएको छ । म धन्यवाद भन्न चाहन्छु । यो ध्यानाकर्षणलाई शिरोधार्य गर्न चाहन्छु । घरमा ध्यान गरेर आउनुस् वा नआउनुस्, ध्यान गरेको कार्यस्थलमा पाइन्छ कि कति सेवाग्राहीलाई प्रसन्न चित्तले, हँसिलो अनुहारले सेवाग्राहीलाई खुसी पारेर तत्काल सेवा उपलब्ध गराएको छ कि छैन, त्यसबाट घरमा ध्यान र योग गरेको छ कि छैन भन्ने बुझिन्छ । कुनै योगी बुरुक्क उप्रिँदैन, झनक्क रिसाउँदैन । कुनै ध्यानी पनि झनक्क रिसाउँदैन । ध्यानी अपशब्द बोल्दैन । जब ध्यानबाट टाढा हुन्छ, अनि उसले प्रतिस्पर्धा मात्रै बुझ्छ, ध्यानले सकारात्मक प्रतिस्पर्धातर्फ लान्छ भने ध्यानको अभावले क्रोधी र स्वार्थी प्रतिस्पर्धातर्फ मान्छेलाई लान्छ । त्यसो भएपछि प्रतिस्पर्धा विकृत हुन्छ ।
हाम्रो समाज सभ्य र सुुसंस्कृत भएको समाज हो । यो समाज अहिले अलिकति बिग्रिन खोज्दै छ, अराजतकता जस्तो देखिन खोज्दै छ । त्यसलाई मुक्त गर्ने र सभ्य भाषा, सभ्य संस्कृति र सकारात्मक कामबाट आफूलाई अगाडि बढाउँदै र अरूलाई पनि अगाडि बढ्न मद्दत गर्ने ध्यानमा जोड दिन जरुरी छ ।
म अहिले इटहरीमा नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा जाँदै छु । जेसीजको पनि मूलमन्त्र के हो भने बि बेटर, जस्तो छौँ, त्योभन्दा राम्रो होऊ । त्यसलाई सफल पार्नका लागि ध्यान आवश्यक छ नत्र बेटर कसरी हुने ? कसरी बेटर हुने भनेर त सोच्नु प¥यो नि । आफूलाई हेर्नु प¥यो, मेरा डिफेक्ट कहाँ छन् भनेर । म सग्लो मान्छे छु तर पनि मेरा कमी कहाँ छन् भनेर सोच्ने कुरा हो । तसर्थ, यसलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा कसरी लान सकिन्छ, हामीसँग संविधान र कानुनले निर्दिष्ट गरेका मन्त्रालय छन् । र, हामी २१ वटाभन्दा बढी मन्त्रालय बनाउन सक्दैनौँ । त्यस कारण यिनै मन्त्रालयमा गाभेर स्वास्थ्य तथा आरोग्य मन्त्रालय, स्वास्थ्य तथा आरोग्य योग मन्त्रालय भनेर त्यसलाई बनाउने कि अथवा अर्को केही गर्ने कि आदि कुरा अलिकति व्यापक छलफल नगरिकन फ्याट्ट भन्न नसकिने भएको हुनाले मैले अहिले नभनेको हुँ । यसलाई हामी छलफल गरेर बाटो निकाल्छौँ र योग हाम्रो हो, ध्यान हाम्रो हो ।
हाम्रो भूमिले उत्पन्न गरेको यो ध्यान विश्वका लागि उपयोगी छ । यो एउटा अदृश्य जडीबुटी हो । सबैभन्दा प्रभावकारी जडीबुटी यस धर्तीबाट उब्जिएर विश्वमा फैलिँदै छ । यसलाई हामीले विश्वव्यापी रूपमा फैलाउनु पर्छ । नेपालीले आफूलाई इन्लाइन्टमेन्ट गर्दै लगेर विश्वलाई नै एकदमै ज्ञानको प्रज्वलित ढङ्गले अगाडि बढाउने काम गर्न सक्छौँ । हामीसँग सर्टिफिकेट छन्, हाम्रा पढाइ उच्च छन् । तर हामीभित्र मानवीयता, शान्तिको भाव, भद्रताको भाव र सुखका मुहान हामीभित्र कति उब्ज्याउन सकेका छौँ । यसलाई अपनाउने र विस्तार गर्न आजको यो दिनले हामीलाई प्रेरणा दिओस् ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व ध्यान दिवस २०८१ का अवसरमा पुस ६ गते शनिबार व्यक्त गर्नुभएको विचारको सम्पादित अंश ।