जीवछ यादव
लहान, पुस ६ गते । अनौपचारिक सेवा केन्द्र सिरहाले सिरहामा एक वर्षमा ८७ वटा मानव अधिकार घटनाहरु घटेको तथ्याङ्क एक कार्यक्रमको बिच सार्वजानिक गरेको छ । २०८० पुस १७ देखि २०८१ मङ्सिरसम्म सिरहा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरु उल्लेख रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले वितरण गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सन् २०२४ मा बालिका बलात्कारका घटनाहरु अघिल्ला वर्षहरु जस्तै निरन्तरता पाएको छ । १२ महिनामा उल्लङ्घनका ८७ घटनाहरु मध्ये १३ वटा बलिका बलात्कारको घटना भएको छ भने यौन दुर्व्यवहारको ६ वटा घटनामा भएको तथ्याङ्कले देखिएको छ । महिला अधिकारको ११ वटा घटनामा परिवारजनबाट पाँच महिला र पाँच पुरुषको हत्या भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।
प्रतिवेदनको अभिलेख नम्बर ४८ मा उल्लेख भए अनुसार नरहा गाउँपालिका –१ गौरहा टोलमा दलित बस्तीमा गरिएको नाकाबन्दी, अभिलेख नम्बर ४५ गोलबजार नगरपालिका –२ का ५५ वर्षीय दवानल अनलायनका पत्रकार अर्जुन थपलियाले समाचार लेखेकै कारण उहाँको घरमा गरिएको ढुङ्गामुढाको घटना, अभिलेख नम्बर ४७ मा औरही गाउँपालिका–३ का ६५ वर्षीय भालेश्वर यादवलाई उहाँकै छोरा ३८ वर्षीय शैलेन्द्र यादवले हत्या गरिएको थियो । हत्याको गरेको आरोपमा जिल्ला प्रहरीले गिरफतार गरी अनुसन्धान गरिरहेको छ ।
अभिलेख नम्बर ५१ म लहान नगरपालिका –४ ४३ वर्षीय बद्री नारायण ठाकुरको हत्या आरोपमा उहाँका पत्नी ३३ वर्षीया मालती ठाकुरलाई इलाका प्रहरी कार्यालय लहानले गिरफतार गरेको, आलेख नम्बर ४४ मा एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखीपुर नगरपालिका –४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । त्यस्तै अभिलेख नम्बर ५५ मा १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाइ नगरपालिका –१३ का ७२ वर्षीय रुद्रबहादुर खत्रीलाई लाका प्रहरी कार्यालयले पक्राउ गरिएको, अभिलेख नम्बर ५३ मा एक १६ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा सिरहा नगरपालिका –६ का ३५ वर्षीय इन्देस कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरिएको लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरु प्रतिवेदनमा जिल्ला प्रतिनिधि परियारले नेपाल मानव अधिकार वर्ष २०२५ को प्रकाशन पूर्व राखिएको अन्तरक्रियामा राखिएको थियो ।
कार्यक्रममा प्रेदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कटेल लहान नगरपालिका न्यायिक समितिका सदस्य राम कुमारी दास, अधिकारकर्मी लक्ष्मी यादव र मानव अधिकारकर्मी देवराज पोखरेलले उल्लेख गरिएको प्रतिवेदलनमा प्रहरीको स्रोत मात्रै उल्लेख नगरी जनप्रतिनिधि न्यायिक समिति र पत्रपत्रिकामा प्रकाशित समाचारहरुलाई समेत राखेर प्रतिवेदन तयार गर्नुपर्ने साझा सुझाव दिनुभएको थियो ।