• ८ पुस २०८१, सोमबार

रणनीतिक मार्ग पाँचमानेभन्ज्याङ

blog

काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख चार भन्ज्याङ प्राचीनकालदेखि नै प्रख्यात थिए । काठमाडौँबाट बाहिरिने करिब १२ भन्ज्याङ भए पनि मुख्य रूपमा चार भन्ज्याङलाई लिइने गरिन्छ । त्यसैले काठमाडौँ उपत्यकालाई चार भन्ज्याङभित्रको सहरसमेत भनिन्छ ।

काठमाडौँ पश्चिममा थानकोटको वाणभन्ज्याङ, पूर्व साँगाभन्ज्याङ, उत्तर पाँचमानेभन्ज्याङ र दक्षिणतर्फ सौखेल (फर्पिङ) भन्ज्याङ रहेका छन् । 

पाँचमानेभन्ज्याङ अर्थात् नेपाल भाषामा न्यागमणि पनि भनिन्छ । काठमाडौँको  पश्चिममा एकै स्थानमा पञ्चध्यानी बुद्धहरू बैरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको स्मरणार्थ पाँच वटा मानेहरू एक हजार वर्षपहिले नै स्थापना गरिएको पाइन्छ । उपत्यका प्रवेश र बाहिरिने एउटा प्रसिद्ध भन्ज्याङमध्येको पाँचमानेभन्ज्याङ पनि एक हो ।

स्थाननाम कोश (२०६७) मा कृष्णप्रकाश श्रेष्ठले चिनियाँ फौजको नेपाल आगमनको स्मृतिमा निर्माण गरिएका पाँच वटा माने अर्थात् स्तूप रहेको हुँदा यसको नाम पाँचमाने रहेको भनी उल्लेख गरेको पाइन्छ ।

पाँचमानेको नामकरण सम्बन्धमा डिआर रेग्मीले मोडर्न नेपाल (१९७५, पृः १९५) मा धैबुङको युद्धपछि चिनियाँ तिब्बती सेनाको टुकडीबहादुर शाहसँग वार्ता गर्न भनी काठमाडौँनजिकैको भन्ज्याङमा आइपुगेका थिए भनी उल्लेख गर्नुभएको छ । जहाँ उनीहरूले नेपाल आएको सम्झनास्वरूप पाँच वटा माने पनि बनाएका थिए । उनीहरूले नेपाल आएको सम्झनास्वरूप माने बनाएको स्थान नै पाँचमाने हो भनी पुस्तकमा किटानी गरिएको छ । उक्त कुरालाई कर्कप्याट्रिकले ‘एन अकाउन्ट अफ किङडम अफ नेपाल’ (पृः ३०२) मा पनि उल्लेख गर्नुभएको छ । सो कुराको उल्लेख जर्नल अफ हिमालयन स्टडिजको कैलाश जर्नलको जनवरी २०१३ अङ्क १५ मा एल बाउलनोइसले चाइनिज म्याप्स एन्ड प्रिन्ट्स अन दी टिवेट गोर्खा वार अफ १७८२–९२ (पृः १०१) लेखमा समेत उद्धृत गरेको पाइन्छ ।  

पाँचमानेमा ४० को दशकसम्म चार वटा माने रहेका थिए । कालान्तरमा ती माने रहेको ढिस्को भूकम्प, पहिरो, बर्सात, भूक्षय आदिका कारण भत्कन गयो र पाँचमानेको अस्तित्व नै हराउन पुग्यो । जबकि २०४८ सालसम्म पाँचमानेमा एउटा मानेको अस्तित्व रहेको कुरा ह्युबटै डिक्लियरको एकाउन्ट्स अफ स्वयम्भू पुस्तकमा उल्लेख भएको पाइन्छ  ।

पाँचमाने अर्थात् नेपाल भाषामा न्यागःमणिको भौतिक स्वरूपको निर्माण १० वर्षपहिले मात्र भएको हो तर अहिले पाँचमानेमा निर्माण भएका तीनमाने चाहिँ केही वर्षपहिले मात्र निर्माण गरिएका हुन् । यो न्यागमणिको संरचना निर्माण तथा न्यागमणिको जीर्णोद्धारका लागि २०७१ साल असोजमा विशेष पहल भएको न्यागमणि जीर्णोद्धार समितिका अध्यक्ष खड्गबहादुर लामाको धारणा छ । उहाँका अनुसार पाँच वटा नागले फणा फिँजाएर बुद्धलाई संरक्षण दिइराखेको मूर्ति सो स्थानमा स्थापना गरिएको छ । उक्त मूर्ति पाँच सय किलो तौलको रहेको र तीन वर्ष लगाएर एउटै ढुङ्गाबाट निर्माण गरिएको छ । न्यागमणिको जीर्णोद्धारपछि सोको उद्घाटन श्रीलङ्काका तत्कालीन राजदूत डब्लुएम सेनविराथनाले २०७१ साल असोज २५ गते गर्नुभएको थियो ।  

न्यागःमणिलाई तिब्बती बौद्ध धर्मावलम्बीले पनि पवित्र तीर्थस्थल मान्दछन् । यस स्थलमा तीन दशक अघिसम्म तिब्बती बौद्धमार्गी आएर प्रार्थना गरी दीप प्रज्वलन गर्दथे । यहाँबाट बौद्ध स्तूपको दर्शन गरी पूर्वतिर चौरमा पल्टिँदै तल पुग्ने गरेको स्थानीय सूर्यबहादुर श्रेष्ठको स्मरणमा ताजै छ । 

पाँचमानेका बारेमा चिनियाँ, तिब्बती एवं अङ्गे्रजी लेखक तथा विद्वान्ले आफ्ना पुस्तक एवं लेख रचनामा समेत उल्लेख गरेका छन् । कैलाश जर्नलको सन् २०१३ को अङ्कमा उल्लेख भए अनुसार पाँचमानेमा पाँच वटा माने रहेको कुरालाई तिब्बती लेखक सोन युनले आफूले तयार गरेको नक्सामा उल्लेख गरेको पाइन्छ । त्यस्तै ह्युवर्र्ट डिक्लियरको एकाउन्ट्स अफ स्वयम्भू (बेल्जियम, २०१६, पृः २५०)  मा  सन् १८०२ मा तयार गरिएको पाँचमानेको चित्रसमेत दिल्लीको नेसनल म्युजियममा सुरक्षित रहेको उल्लेख भएको पाइन्छ । 

बेल्जियमका लेखक ह्युवर्ट डिक्लियरले एकाउन्ट्स अफ स्वयम्भू (सन् २०१६) नामक लेखमा अतिश दीपङ्करले सन् १०४१ मा उक्त स्थानमा विशाल पाँचमाने बौद्ध स्थल निर्माण गराएको उल्लेख गरेको पाइन्छ । जहाँ विभिन्न पञ्चध्यानी बुद्धको मूर्ति निर्माण गराएको पनि उल्लेख छ । अतिश दीपङ्कर भोटयात्राका क्रममा भगवान् बहालको रक्षार्थ पाँचमानेको निर्माण गराएको हो भन्ने कुरा लेखकको जीवनी ग्रन्थमा पनि उल्लेख भएको पाइन्छ । उहाँले सन् १०४१ देखि १०५५ सम्म भोटयात्रा गरेका थिए । ती पाँच वटा मानेले बुद्ध धर्मका पाँच वटा महत्वपूर्ण धार्मिक स्थल लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, नमोबुद्ध र बोधगयालाई प्रतिनिधित्व गर्छन् । ह्युवर्टका अनुसार पाँचमानेको प्रतीकात्मक चित्र काठमाडौँको थामवहिल विहारमा रहेको छ । 

पाँचमानेको फेदीमा चिनियाँ र नेपाली सेनाबिच १८४८ सालमा युद्ध भएको थियो । जुन युद्ध नेपालले कूटनीतिपूर्ण जितेको कुरा इतिहासमा उल्लेख छ । त्यतिबेला चिनियाँले चिनोका रूपमा पाँच वटा माने निर्माण गरेका थिए र त्यसैको नामले नै यस स्थलको नाम पाँचमाने रहन गएको हो भन्ने कथन पनि पाइन्छ । 

पृथ्वीनारायण शाहले उपत्यका विजय गर्नुपूर्व नुवाकोट, ककनी हुँदै यही ठाउँबाट उपत्यका प्रवेश गरेका थिए । ज्ञानमणि नेपालले नेपाल भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०५५) पुस्तकमा तिब्बतबाट खलितापत्र र सरसौगातहरू आउँदा ठुलो उत्सव मनाइने, यहाँका उच्च भारदार पल्टन लिएर जाने बालाज्यूदेखि नाचगान बजान गर्दै हात्तीमा चढाएर ल्याएर यो खलिता भित्र्याउने र तोपको सलामी दिइने कुरा उल्लेख गरेबाट उक्त खलितापत्र र सरसौगात पाँचमाने, जितपुरफेदी, धर्मस्थली, डुक्रनेपानी हुँदै बालाजुसम्म आउने प्रस्ट देखिन आउँछ ।  

इतिहासमा उल्लेख भए अनुसार १८४६ सालदेखि चीनमा प्रतिनिधिमण्डल पठाउने उपक्रम भयो । नियमित रूपले पाँच/पाँच वर्षमा अर्जी सौगात लिई प्रतिनिधिमण्डल बादशाहको दर्शन गर्न पेचिन पुग्ने प्रथा सुरु भयो । यसरी चीन जाने प्रतिनिधिमण्डल फर्केर आउँदा केरुङको बाटो गरी नुवाकोटको चतुराले हुँदै बालाजु आउने चलन थियो । 

छेना दना वना धमाथुली बास

धमाथुली दना वना न्यागमणि बास ।

न्यागमणिको उल्लेख नेपाल भाषाको प्राचीन संस्कृति शिलुम्येमा पनि उल्लेख भएको पाइन्छ । यसरी शिलुम्येमा उल्लेख हुनुले यो स्थल गोसाइँकुण्ड तीर्थ जाने मार्ग पनि रहेको विश्वास गर्न सकिन्छ ।  

भृकुटीको बिदाइ पनि यही मार्ग हुँदै गरिएको र अरनिको पनि यही मार्गबाट तिब्बततिर लागेका हुन् भन्ने कुरा सत्यमोहन जोशीले कलाकार अरनिको पुस्तकमा उल्लेख गरेको पाइन्छ । जगतगुरु शङ्कराचार्य पनि यही बाटो हुँदै तिब्बत प्रस्थान गरेको कुरा इतिहासमा पाइन्छ । कर्नेल कर्कप्याट्रिकले यस स्थलबाट नै नेपाली सेना भोट तिब्बतसँग युद्ध गर्न अघि बढेको भन्ने कुरा उल्लेख गरेको देखिन्छ ।

२०१७ सालपूर्व काठमाडौँ उपत्यकाबाट पश्चिमतिर आवतजावत गर्ने प्रमुख मार्गका रूपमा पाँचमानेको विशेष स्थान रहेको पाइन्छ । पाँचमाने धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । केही वर्षपहिले पाँचमानेमा मानाङ्क मुद्रा फेला परेको थियो । पाँचमानेमा मानाङ्क मुद्रा फेला पर्नुले यसको ऐतिहासिक महत्व रहेको अनुमान गर्न सकिन्छ । पाँचमाने लिच्छविकालदेखि नै काठमाडौँ उपत्यकाको अन्य भूभागसँगको व्यापारिक मार्ग रहेको पाइन्छ । भोट र तिब्बतसँग व्यापारको प्रमुख मार्ग मानिएको यो स्थान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि महत्वपूर्ण मार्ग रहेको प्रतीत हुन्छ ।   

Author

देवेन्द्र अर्याल ‘आँसु’