• ८ पुस २०८१, सोमबार

पन्चैबाजा संरक्षणमा आमा समूह

blog

ढोरपाटन, पुस ६ गते  । परियार समुदायको पुख्र्याैली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा विस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ ।

अहिले बजारमै रहेका महिला समूहले समेत बाजा बजाउन थालेका छन् । मौलिक संस्कृतिका रूपमा रहेको पन्चैबाजा लोप हुन थालेपछि महिला यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३, देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताउनुभयो । गाउँ तथा सहरमा विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले बताउनुभयो । थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता १०/१२ कक्षा पास गरेर विदेश गइहाल्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोलछिमेकमा कसैको बिहे, भात खुवाइ र व्रतबन्ध हुँदा बाजा बजाउनै छाडेकाले महिला दिदीबहिनी मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो, अहिले सबैले सिकेपछि ठाउँ ठाउँमा बजाउन जाने गरेका छौँ ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाले अहिले आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरूले एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रूपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट ३० देखि ५० हजार रुपियाँसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको समयमा बागलुङका ग्रामीण क्षेत्रदेखि ठुला ठुला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ । “सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, बाजा हामीहरूले किने पनि सिकाउने मान्छे थिएनन्, गाउँका बाजा बजाउन सिपालुसँग तालिम लियौँ, अहिले १५ जनाभन्दा बढी महिला दिदीबहिनीले बजाउने गर्छौं,” उहाँले भन्नुभयो, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, मङ्सिर र माघमा हामीहरूलाई भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”