रमेश विश्वकर्मा
गुल्मी, पुस ५ गते । अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी स्वर्गीय दलबहादुर रानाको स्मृति प्रतिमा अनावरण गरिएको छ । दक्षिण एसियाली बक्सिङ खेलमा दुई स्वर्ण र एक रजत पदक विजेता स्वर्गीय दलबहादुर रानाको स्मृतिमा रेसुङ्गा नगरपालिका ४, सेउघा जोगिथुममा प्रतिमा निर्माण गरिएको स्मृति प्रतिमा अनावरण गरिएको हो ।
शुक्रबार रेसुङ्गा नगरपालिकाको आयोजनामा स्वर्गीय रानाको गाउँ जोखिथुम चोकमा स्थापना गरिएको स्मृति प्रतिमाको अनावरण नगर प्रमुख खिलध्वज पन्थीले गर्नुभयो । बक्सिङ खेलमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको पहिचान बनाएर गुल्मीको शिर उच्च बनाउनुभएका उहाँको स्मृति प्रतिमा स्थापना गरिएको हो ।
जोगिथुम चोक पश्चिम र उत्तर गुल्मी जाने मुख्य नाका हो । बाग्लुङसम्मका नागरिकहरुले यात्रा गर्ने त्रिकोणात्मक चोक रहेको महत्त्वपूर्ण स्थलमा रानाको प्रतिमा स्थापना गरिएको छ । देशलाई खेल क्षेत्रमार्फत पहिचान दिलाउने स्वर्गीय दलबहादुरको सम्मान र सम्झनामा स्मृति प्रतिमा निर्माण गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।
आफुहरु निर्वाचित भएपछि विकासका विभिन्न सूचकांक तय गरी खेलकुद क्षेत्रको विकास र प्रोत्सान गर्ने उद्देश्यसहित स्वर्गीय रानाको स्मृति प्रतिमा स्थापना गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले वडामार्फत विनियोजन गरेको १० लाख रुपियाँभन्दा बढी बजेटमा उहाँको स्मृति प्रतिमा निर्माण गरेको छ। दुई वर्षमा स्मृति प्रतिमाका विभिन्न संरचना निर्माण गरिएको बताइएको छ ।
जोखिथुमस्थित पिता टुल्क राना मगर र माता गोमता राना मगरको कोखबाट २०१८ साउन ३ गते जन्मनुभएका दलबदादुर राना २०३६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक समेत हुनुभएको थियो । प्रोफेसनल बक्सिङ खेलाडी भएकाले २०३७ सालदेखि राष्ट्रिय खेलाडीका रुपमा भाग लिएसँगै उहाँले सुप्रसिद्ध स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।
दलबहादुर राना नेपालको तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उहाँले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६० केजी तौल समुहमा कांस्य पदक जितेका खेलाडी हुनुहुन्छ ।