अमरराज नहर्की
तनहुँ, पुस ५ गते । नेपाल रेडक्रस सोसाईटी तनहुँले रक्त सञ्चार केन्द्रको दिगो रुपमा सञ्चालनको लागि अक्षयकोष स्थापना गरेको छ । तनहुँका विभिन्न पालिकाहरुको सहयोगमा कोष स्थापना गरिएको हो ।
अक्षयकोषका लागि हालसम्म २१ लाख ५० हजार रुपियाँ जम्मा भइसकेको र सहयोग आउने क्रम जारी रहेको नेपाल रेडक्रस सोसाइटी तनहुँका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार व्यास नगर पालिकाबाट पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट पाँच लाख, म्याग्दे गाउँपालिकाबाट पाँच लाख, भानु नगरपालिकाबाट चार लाख, भीमाद नगरपालिकाबाट दुई लाख रुपियाँ र घिरिङ गाउँपालिकाबाट ५० हजार रुपियाँ गरी २१ लाख ५० हजार रुपियाँ जम्मा भइसकेको छ ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाबाट तीन लाख, देवघाट गाउँपालिकाबाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट दुई लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता आइसकेको छ। आईसकेको र प्राप्त हुन बाँकी गरी २९ लाख पुगेको छ । अक्षकोषको लागि ५० लाख रुपियाँ रुपियाँ लक्ष्य राखिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।
अक्षकोषको लागि सहयोग गर्नेलाई नेपाल रेडक्रस सोसाइटी तनहुँले शुक्रबार दमौलीमा सम्मान गरेको छ । व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाको अध्यक्ष सुरेन्द्रबहादुर थापा, देवघाट गाउँपालिकाको अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेलाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतम, पूर्व सभापति रघुनाथ पौडेल, उपसभापति नारायणी अधिकारी, मन्त्री सूर्यचन्द्र हड्खले लगायतले सयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
दमौली अस्पतालमा डायलासिस सेवा सुरु भएपछि रगतको आवश्यकता बढेसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँले अन्य सरोकारवाल निकायसँग समन्वय गरी विसं २०७२ साल मङ्सिर १२ गतेबाट रक्तसञ्चालन केन्द्र सञ्चालन गरेको थियो । केन्द्रलाई दिगो र सहज बनाउन ५० लाखको अक्षयकोष स्थापना गरी अघि बढाउने निर्णय बमोजिम काम अघि बढाइएको थियो ।
जिल्ला विसं.२०७९ चैत १४ गते जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको समन्वयमा जिल्लाका १० वटै पालिकाका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षको सहभागितामा वैठक बसी अक्षयकोषको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुरुप सहयोग प्राप्त भइरहेको र सहयोग गर्ने पालिकालाई सम्मान गरिने रेडक्रस तनहुँले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सत्यवती माध्यामिक विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराईले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्नको लागि रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन आवश्यक भएकोले अक्षयकोषको लागि सबैले मद्दत गर्नुपर्नेमा जोड दिनुभएको थियो ।