काठमाडौं, पुस ५ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले समय परिवर्तन भए पनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताउनुभयो । उहाँले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको जानकारी दिनुभयो । उहाँले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘‘समय परिवर्तनसँगै खाने कुराहरुमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ ।’’
उहाँले रैथाने बालीहरुको विकास र संरक्षणका लागि सरकारले पहल गर्ने बताउनुभयो । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरुमा लेखनाथ पोखरेल, ममता थापा, मदन पौड्याल, प्रशान्त खड्का, रवि थापा र सरिता थारु हुनुहुन्छ ।