गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १६ गते । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले हरित अर्थतन्त्रबाट योगदान हुने गरी नीति र कार्यक्रम तथा योजना बनाउन जरुरी भएको बताउनुभएको छ । उहाँले हरित अर्थतन्त्रका अवसर विशाल रहेको बताउनुभयो ।
प्राकृतिक स्रोत व्यवस्थापन तथा संरक्षण क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले काठमाडौँमा आइतबार आयोजना गरेको दिगो वन व्यवस्थापन, जलवायु परिवर्तन र हरित अर्थतन्त्र विषयक संवाद कार्यक्रममा उपाध्यक्ष घिमिरेले दिगो वन व्यवस्थापनबाट हरित अर्थतन्त्रको विशाल अवसर सिर्जना हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “जडीबुटी, बाँस, रेसा आधारित उद्योग स्थापना गर्न सकिन्छ, खेर गइरहेको वन पैदावर उपयोग गर्ने नीति बनाइएको छ तर कार्यान्वयन भएको छैन ।” उपाध्यक्ष घिमिरेले यस्ता उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना र निर्यात प्रवर्धन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा स्थानीय रोजगारी सिर्जना गर्ने, हरित उद्यमशीलतामार्फत युवाको आत्मनिर्भरता बढाउने तथा निर्यातयोग्य जैविक उत्पादनबाट विदेशी मुद्रा आर्जन गर्नेतर्फ योजना बनाउन ढिलो गर्नुहुन्न ।”
उपाध्यक्ष घिमिरेले जलवायु परिवर्तनको असरका कारण अहिले हिमाल पग्लन थालेको र त्यसबाट गएका वर्षहरूमा हिमाली क्षेत्रले बाढी र पहिरो सामना गर्नु परेको चर्चा गर्नुभयो । जलवायु परिवर्तनका लागि कुनै योगदान नगरे पनि यसको क्षति भोग्नु परेको तर्क गर्नुहुँदै उपाध्यक्ष घिमिरेले जलवायु न्यायका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।