• ७ वैशाख २०८२, आइतबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस ५ गते । मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीया गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका अनुसार शुक्रबार बिहान स्थानीय सिर्जना सामुदायिक वनको नर्सरीबारीमा घाँस दाउराका लागि जानुभएकी गङ्गामायालाई हात्तीले आक्रमण गरेको हो । 

श्रेष्ठलाई सँगै गएका साथीहरूले उद्धार गरी पूर्वाञ्चल विश्वविद्यालय छेउमा ल्याएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विश्वविद्यालय परिसरबाटै उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो । गङ्गामायाको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको वडाध्यक्ष मगरले बताउनुभयो । वडाध्यक्ष मगरले गङ्गामायाको शरीरमा कुनै चोटपटक नदेखिएको जानकारी दिनुभयो । 

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वेदप्रकाश जोशीले घटनाको पुष्टि गर्दै गङ्गामायाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताउनुभयो ।