• ८ पुस २०८१, सोमबार

चुँडियो राजनीतिको दुर्लभ फूल

blog

कैयौँ विरोधाभाषको एउटा अद्भुत सङ्गम हो मान्छेको जीवन । पिएल सिंह अर्थात् प्रेमलाल सिंह त्यस्तै जीवन बाँच्ने एक हक्की राजनीतिज्ञ हुनुहुन्थ्यो । जीवनका कैयौँ विरोधाभाषलाई उहाँले आफ्नो जीवनको आदर्श अनि सिद्धान्तका रूपमा अपनाउनुभयो । जब मनलाई वशमा लिन सकिन्छ अनि त्यो जीवनको असल मित्र हुन्छ, त्यसलाई वशमा राख्न सकिएन भने जीवनको सबैभन्दा ठुलो शत्रु त्यही मन भइदिन्छ । राष्ट्र, प्रजातन्त्र र जनताका लागि पिएल सिंहले जीवनलाई त्यही सिद्धान्तमा समर्पण गर्नुभएको थियो । आफ्नो सव्रिmय जीवन राष्ट्र, राजनीति र प्रजातन्त्रका लागि समर्पण गरेका पिएल सिंह ८८ वर्षपछि अब हामीमाझ रहनुभएन ।

काठमाडौँ नगरको पहिलो जननिर्वाचित मेयरका रूपमा आफ्नो पहिचान बनाउनुभएका उहाँको योगदान त्यत्तिमा मात्रै भने सीमित छैन । २०४६ सालको जनआन्दोलन र त्यसपछिको परिवर्तनपछि आधुनिकताले ढाक्दै गएको देशको राजधानी सहर काठमाडौँमा उहाँले नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेर जित्नुभयो । नगरपिताको हैसियतमा रहनुभयो । २०४९ सालमा पहिलो पटक स्थानीय तहमा निर्वाचन भएको थियो । पिएल सिंह काठमाडौँ नगरपालिकाको पहिलो जननिर्वाचित प्रमुख हुनुभएको थियो । त्यो बेला काठमाडौँलाई नगरबाट महानगरको यात्रामा डो¥याउनका लागि उहाँले विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुभयो । यस कारण उहाँलाई काठमाडौँ महानगरका जन्मदाताका रूपमा लिइन्छ । अरूले जुनसुकै परिचय दिए पनि उहाँले आफूलाई भने आफ्नो छोटकरी नाम अर्थात् 

‘पिएल’ लाई ‘पिपुल लभ सर्भिस’ का रूपमा परिभाषित गर्नुहुन्थ्यो । २०४९ सालदेखि २०५४ सम्म काठमाडौँको मेयर रहनुभएका उहाँले त्यो बेला काठमाडौँलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि परिचित गराउन ठुलो भूमिका खेल्नुभएको थियो । विश्वका धेरै चर्चित र आधुनिक नगर महानगरसँग काठमाडौँको दौत्य साइनो पिएल सिंहले स्थापित गर्नुभएको थियो । स्थानीय सरकारमा कार्यकाल सकिएपछि २०५६ सालमा उहाँले काठमाडौँबाट चुनाव जित्नुभयो । २०५८ सालमा शेरबहादुर देउवाको नेतृत्वको सरकारमा पिएल सिंह जनसङ्ख्या तथा वातावरणमन्त्री बन्नुभएको थियो । त्यसपछि भने उहाँ सक्रिय राजनीतिमा आउनुभएन ।

विसं १९९३ मा काठमाडौँमा जन्मिनुभएका पिएल सामाजिक सेवामा कलिलै उमेरदेखि जोडिनुभयो । क्याम्पस जीवनमा विद्यार्थी राजनीतिमा उहाँले निकै चर्चा कमाउनुभएको थियो । २०१५ सालको आमचुनावपछि बिपी कोइराला प्रधानमन्त्री हुँदा पिएलले कोइरालालाई भेट्नुभएको थियो । त्यसअघि र पछिको लगभग पूरै जीवन उहाँले गणेशमान सिंहकै छत्रछायामा बिताउनुभयो । २००७ सालको क्रान्तिदेखि नै उहाँ गणेशमान सिंहकै वरिपरि रहनुभयो । गणेशमान र मङ्गलादेवीको परिवारले उहाँलाई आफ्नै सन्तान बराबरीको हैसियत दिएर हुर्काउनुभएको थियो । औपचारिक शिक्षा मात्रै होइन राजनीतिक दीक्षा पनि पिएलले त्यही सिंह परिवारबाटै पाउनुभयो । त्यसैले कतिपयले पिएललाई गणेशमान परिवारको ‘राजनीतिक सन्तान’ का रूपमा चिन्छन् । नेपाली राजनीतिक इतिहासमा यो सिंह परिवारको योगदान चाहेर पनि कहिल्यै भुल्न सकिँदैन । अर्थात् राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि सारा निजी जीवन समर्पण गर्नुभएका लौहपुरुष गणेशमान सिंह अर्थात् लौहपुरुषको नाम नभएका इतिहासका ती पाना सधैँ अपूरा हुन्छन् । इतिहासको त्यस्तो विराट परिवारसँग गाँसिनुभएका पिएल पनि नेपाली राजनीतिमा उत्तिकै हक्की भएर निस्किनुभयो । जसरी प्रजातन्त्रको लडाइँमा गणेशमानले आफ्ना आदर्श र सिद्धान्तलाई ‘लोहा’ को रूप दिनुभएको थियो ।

प्रजातन्त्रका लागि सारा निजी जीवन अर्पिनुभएका गणेशमान सिंहको सहयोगी मात्रै होइन उहाँको परिवारका रक्षकका रूपमा पनि पिएलले आफूलाई उभ्याउनुभएको थियो । प्रजातन्त्रको लडाइँमा गणेशमान कैयौँपल्ट जेल पर्नुभयो । त्यो बेला गणेशमानको परिवारको सारा जिम्मेवारी पिएलले नै समाल्नुभयो । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी शासनसत्ता हातमा लिनुभएको थियो । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासहित कैयौँ नेता त्यो बेला जेल पर्नुभयो । गणेशमानलाई पनि त्यो बेला बिपीहरूसँगै सुन्दरीजल जेलमा राखिएको थियो । पिएल सिंह त्यो बेला युरोपमा एउटा समाजवादीको भेलामा सहभागी हुनुहुन्थ्यो । उहाँले नेपालका विद्यार्थीको प्रतिनिधित्व गरेर त्यो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो । उहाँ फर्किंदा देशको राजनीति उलटपलट भइसकेको थियो । युरोपबाट फर्केपछि चाक्सीबारीमा रहेका गणेशमानको परिवारलाई पिएलले समाल्नुभयो । गणेशमानका छोरा प्रकाशमान सिंह त्यो बालखै हुनुहुन्थ्यो । त्यति मात्रै होइन गणेशमान जेल परेपछि भाडाको घरमा बस्दै आएको उहाँको परिवार घरबाट समेत निकालिनुभयो । त्यो भीषण परिस्थितिमा पनि उहाँले गणेशमानको परिवारलाई समाल्नुभएको थियो । देशमा प्रजातन्त्र र जनताका अधिकार स्थापना गर्ने गणेशमानको लक्ष्यलाई नै पिएलले आफ्नो सारा जीवनको लक्ष्य बनाउनुभएको थियो । यस अर्थमा भन्न सकिन्छ, उहाँले आफ्नो निजी जीवनका सारा आकाङ्क्षाले गणेशमानकै लक्ष्यका निम्ति समर्पित गर्नुभएको थियो । पिएल आजीवन अविवाहित रहनुभयो । कहिल्यै आफ्नो महत्वाकाङ्क्षालाई लक्ष्यसँग साट्नुभएन र आफ्नो आदर्श अनि सिद्धान्त विपरीत कहिल्यै सम्झौता गर्नुभएन ।

उहाँले कैयौँ विरोधाभाषपूर्ण जीवन बाँच्नुभयो । आफ्ना इच्छा र आकाङ्क्षालाई मारेर उहाँले प्रजातन्त्रको लक्ष्य पछ्याइरहनुभयो । प्रजातन्त्रका लागि लडिरहेका नेतालाई आफ्नो आदर्श मानेर त्यही लक्ष्य पछ्याउन उहाँ जीवनभरि त्यही आदर्शका पछि दौडिनुभयो । त्यस्तै एउटा विरोधाभाष २०६३ पछि पनि दोहोरियो । यद्यपि त्यो बेला राजनीतिक मैदानमा उहाँ सक्रिय हुनुहुन्थ्यो । नेपाली कांग्रेसले आदर्श नेताका रूपमा स्थापित गरेका व्यक्तिमध्येमा उहाँ पनि एक हुनुहुन्थ्यो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले फेरि एक पटक आफ्नो पितापथलाई ब्युँताउने मूख्र्याइँ गर्नुभयो । राजनीतिक दल र राजनीतिक अधिकार कटौती गरेर सत्ताको चाबी आफ्नै हातमा लिएर फेरि त्यही हत्कण्डा सुरु भएको थियो । यसपालि भने देश र राजनीतिक परिस्थिति निकै फरक धरातलमा थियो । नागरिकमा राजनीतिक चेतना बढिसकेको थियो । माओवादीले राज्यविरुद्ध ‘निर्णायक लडाइँ’ सुरु गरिसकेको थियो । यता संसदीय राजनीतिक दलहरूले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सडक आन्दोलन गरिरहेका थिए । बिस्तारै त्यसले नागरिक आन्दोलनको रूप लियो र त्यसलाई जनआन्दोलनको दोस्रो ‘इनिङ’ का रूपमा लिइन्छ । यही जनआन्दोलन–२ ले २०६३ वैशाखमा संसद् पुनस्र्थापना भयो । ज्ञानेन्द्रले खोसेका सारा अधिकार फिर्ता भए । यो आन्दोलनका सर्वोच्च कमाण्डर गिरिजाप्रसादको पहिलो लक्ष्य संसद् पुनस्र्थापना नै थियो । आन्दोलनको वेग त्यत्तिमा मात्रै थामिएन । त्यसले सदियौँको विरासत बोकेको राजसंस्थालाई नै इतिहास बनाइदियो । देशमा राजतन्त्रको अन्त्य भयो अनि गणतन्त्र स्थापना भयो । नेता कृष्णप्रसाद भट्टराई अनि पिएल सिंहहरूलाई यो हदसम्मको परिवर्तन खासै मन परिरहेको थिएन । पार्टीको आस्थागत हिसाबले पनि उहाँहरूले यसलाई स्वीकार्न सक्नुभएन र पार्टी राजनीतिबाट अलि पर रहनुभयो । उहाँहरूले आफू निकटलाई ‘राजाले निगाहामा दिएको संसद्मा जननिर्वाचित सांसदहरू फर्किनुहुन्न’ भन्ने तर्क राख्नहुन्थ्यो । यद्यपि त्यो बेलासम्म देशीय राजनीतिक परिस्थिति धेरै टाढा पुगिसकेको थियो । तथापि भट्टराई पनि संसद्मा फर्किनुभएन । पिएल पनि उहाँकै अडानको समर्थनमा रहनुभयो । उहाँहरू २०४७ सालकै संविधानलाई निरन्तरता दिनु पर्छ र राजसंस्था पनि हटाउनुहुन्न भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो । नेपाली कांग्रेसले उहाँहरूलाई सधैँ आफ्ना आदर्श नेताका रूपमा मानिरहेको छ, अपनाइरहने छ । उदार लोकतन्त्रलाई आफ्नो आदर्श अपनाएको एउटा राजनीतिक पार्टीले फरक विचार र धारणालाई कहिल्यै अस्वीकार गर्दैन । तथापि कांग्रेसका लागि उहाँहरू सधैँ राजनीतिक आदर्शका त्यस्ता पात्र हुनुहुन्छ, जसको अपनत्वबिना पार्टीको राजनीतिक विरासत अनि इतिहास दुवै अपूरा र सधैँ अधुरा रहने छन् ।

मान्छेको जीवन सधैँ एकनाश रहन्न । हामीले बाँचेको जति पनि समय मात्रै मृत्युको पर्खाइ न हो । यही नै जीवनको अन्तिम सत्य हो । शाश्वत सत्य नै यही हो जीवनको । सक्रिय राजनीतिक जीवनपछि लामो   धर्ती छोडिसक्नुभएको छ । राजनीतिमा आफ्ना इच्छा, आकाङ्क्षा र महत्वाकाङ्क्षालाई एउटा आदर्श र सिद्धान्तका लागि जीवनभरि त्याग्न सक्ने व्यक्ति बिरलै हुन्छन् । पिएल हाम्रो राजनीतिक फूलबारीमा फुलेको एउटा त्यस्तै दुर्लभ फूल हो । जसको सुगन्धले हाम्रो कैयौँ पुस्तासमेत सुगन्धित हुने छ । यस्ता ऐतिहासिक व्यक्ति अनि व्यक्तित्वको योगदानलाई हामीले त्यो पुस्तामाझ पनि परिचित गराउनुपर्ने अभिभारा छ । इतिहासको यस्तै सुगन्धले नयाँ पुस्तालाई राजनीतिमा गाँस्न पनि सकिन्छ । पिएलप्रति हार्दिक श्रद्धासुमन !


Author

डा. शोभाकर पराजुली