• १० पुस २०८१, बुधबार

बैङ्कर्स सङ्घमा नयाँ कार्यसमिति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न सङ्घको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उहाँ यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो ।

कार्य समितिको उपाध्यक्षमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सदस्यहरूमा​ प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिका बैङ्कका प्रमुख कार्यकारी अधिकृत ​निश्चलराज पाण्डे, ​​​प्राइम कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत ​रामचन्द्र खनाल, एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय रहनुभएको छ । 

​​साथै निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यका रूपमा रहनुहुने छ । पूर्वअध्यक्षहरू अशोकशमशेर ज.ब. राणा र ज्ञानेन्द्रप्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकार रहनुहुने सङ्घले जनाएको छ ।

साधारण सभाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैङ्कहरूले सबैखाले अप्ठ्यारा सहन सक्ने क्षमता राखेको भन्दै प्रशंसा गर्नुभयो  ।

पछिल्लो समय ऋण असुलीमा समस्या देखिएकाले प्रोभिजनिङ बढाएको उल्लेख गर्दै उहाँले राष्ट्र बैङ्कले लाभांश रोक्न प्रोभिजनिङ बढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ऋण दिँदा नै विचार पु¥याएका बैङ्कले अहिले पनि २५ प्रतिशत लाभांश दिँदै छन् ।”

अनुमानयोग्य अवस्थाका आधारमा केन्द्रीय नीति तय गर्ने भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रको रक्षा र प्रवर्धन नै आफूहरूले सोच्ने उल्लेख गर्नुभयो । समग्र अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा माग बढेको जानकारी दिनुभयो ।

आगामी दिनमा क्रमिक सुधार हुने र यसले बैङ्क तथा वित्त क्षेत्रमा ठुलो उत्साह आउने भन्दै आशावादी हुन आग्रह पनि गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कोइरालाले आफ्नो नेतृत्वको समिति समग्र बैङ्किङ क्षेत्रको उत्थानमा लाग्ने बताउनुभयो ।