• ४ पुस २०८१, बिहिबार

शैक्षिक प्रणाली प्रविधिअनुकुल बनाउँछौं : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

लमजुङ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री सामुदायिक विद्यालय बनाउन जोड दिनुभएकोछ । लमजुङस्थित राइनास नगरपालिका —८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा ५१ औं अभिभावक दिवस समारोहको उदघाटनका क्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उच्च बनाउने आधारहरु उहाँले औँलयाउनुभयो । आइसिटी ल्याब, कम्प्यूटर ल्याव सुविधा लगायत होस्टेल र स्कुल बस विद्यालयका महत्वपूर्ण शैक्षिक आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेको सरकारी विद्यालय प्रविधिमैत्री बनाउन सरकार कटिबद्ध छ । यसै अन्तर्गत मन्त्री गुरुङले श्री वीरुभक्ति माध्यमिक विद्यालयसहित लमजुङ जिल्लाको १० वटा सामुदायिक विद्यालयमा कम्युटर ल्याब सेवा प्रदान गरिसकेको जानकारी दिनुभयो । 

अर्को वर्ष जिल्लाका ८२ वटा सामुदायिक विद्यालयमा सकेसम्म आइसिटि ल्याब नभए, कम्प्यूटर ल्याबसम्म स्थापना गर्दै प्रविधिमैत्री शिक्षाको सुरुवात गर्ने योजना रहेको समेत मन्त्री गुरुङले बताउनुभयो । उहाँका अनुसार राजा महेन्द्रले २०२८ सालमा ल्याएको नयाँ शिक्षानीति वर्तमान अवस्थामा पुरानो भइसकेकाले आधुनिक शिक्षा ऐन निर्माणमा सरकार लागेको बताउनुभयो । 

गुणस्तर शिक्षाको व्यवस्थापनको लागि यो वर्ष विद्यालय शिक्षासम्बन्धी एेन ल्याउने सरकारको तयारीबारे जानकारी दिनुभयो । साथै सूचना र प्रविधिको युग सुहाँउदो शैक्षिक प्रणाली विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले अब प्राविधिक शिक्षा अनिवार्य गराउनु पर्ने धारणा राख्नुभयो । “एआईको युग आइसकेकोले हामी आइटि शिक्षालाई प्राथमीकतामा राख्नुपर्छ” मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले धेरै लगानी गर्ने क्षेत्र शिक्षा भए पनि सही सदुपयोग हुन नसक्दा प्रतिफल सकारात्मक आउन नसकेको बताउनुभयो । रासस