• ३ पुस २०८१, बुधबार

सरकारले लगानीको वातावरण बनाउँछ : उर्जा मन्त्री खड्का

blog

छविलाल पाण्डे 

बुटवल, पुस ३ गते । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारा सहित बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको उर्जा तथा सिचाई मन्त्री दिपक खड्काले उद्घाटन गर्नुभयो । 

मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खडकाले कांग्रेस र एमालेबीचको गठबन्धन सरकारले मुलुकको आर्थिक सम्मृद्धिको लागि अघि बढेको बताउनुभयो । उहाँले मेलाले लिएको लुम्बिनीमा लगानी र देशमा समृद्धिको नारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री खड्काले लगानीमा कुनैपनि कञ्जुस्याई नगरी अघि बढ्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । 

लगानीको वातावरण बनाउन सरकार तयार रहेको भन्दै मन्त्री खडकाले सरकार नीजि क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मन्त्री धनेन्द्र कार्की, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले बोल्दै बुटवलमा भैरहेको मेलाले बुटवलको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै लुम्बिनी क्षेत्रमा लगानीको अवसर सिर्जना गर्ने बताउनुभयो । 

मेलामा १० करोडको आर्थिक कारोबार र करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा मेला आयोजक बुटवल उद्योग बाणिज्य संघले गरेको छ । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला सुरु भएको हो । 

मेलाको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलाको माध्यमबाट उद्यमशीलता विकास गर्न तथा नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यवसायिकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिन छन् । 

मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछ । 

१६ दिनसम्म सञ्चालन हुने मेलामा पाँच सय स्टल सहभागी छन् ।