• ३ पुस २०८१, बुधबार

आमाछोराद्वारा भडाहा र हुड्कोको प्रस्तुति

blog

बैतडी समाचारदाता

बैतडी, पुस ३ गते । अरू दिन नियमित पठनपाठन हुने वीरेन्द्र माध्यमिक विद्यालयमा सोमबार बेग्लै माहोल थियो । ७० वर्षीय वृद्धा शारदा दमार्इं भडाहा सुनाउन मञ्चमा प्रकट हुँदा उहाँका छोरा गणेश दमाईंले हुड्को बजाएर साथ दिनुभएको थियो । 

हुड्कोको लय र ताल कतै लिपिबद्ध नहुँदा नयाँ पिँढीका मानिसलाई हुड्को बजाउन आउँदैन । यही कारण ७० वर्षीय जानकार वृद्धा शारदा दमाईं र उहाँका छोरा गणेशलाई वार्षिकोत्सवका अवसर पारी विद्यालयमा बोलाइएको थियो ।  

स्थानीय पाठ्यक्रममा हुड्कोको चित्र समावेश गरिए पनि कतिपय विद्यार्थीले हुड्कोको आवाज र भडाहाको गाथा पहिलो पटक सुनेका थिए । भडाहा गाउँदै नाचिने हुड्केउली नाच छलियाभन्दा पुरानो नाच हो । वीर रसमा अधारित भडाहामा ‘पाइक’ (वीर) हरूको लडाइँ कौशललाई शारदा दमाईंले पृथ्वीनारायण शाहकालीन भाषामा वर्णन गर्नुभयो ।  

वार्षिकोत्वसका अवसरमा १० दिनदेखि विज्ञान प्रदर्शनीमा जुटेका १४/१५ वर्षका कलिला विद्यार्थीले विद्यालयको प्राङ्गणमा पहिलो पटक हुड्कोको तालमा भडाहा सुन्न पाउँदा बेग्लै रौनक सिर्जना भएको कक्षा १० का विद्यार्थी आदर्श पन्तले सुनाउनुभयो । भडाहाको भाषा भने नबुझेको अधिकांश विद्यार्थीले बताएका छन् । 


जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ७१ औँ वार्षिकोत्सवका अवसरमा ज्ञान, विज्ञान र कला संस्कृति प्रदर्शन गरिएको प्रधानाध्यापक हर्कबहादुर चन्दले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सिकाइ आदानप्रदान गर्न एउटै मञ्चमा विज्ञान प्रदर्शनी र हुड्केउली नाच पहिलो पटक आयोजना गरेका हौँ । भडाहा र हुड्को लोप हुन थालेपछि विद्यालयको वार्षिकोत्सवमा समावेश गरेका हौँ ।” 

मादलको लय र ताल लिपिबद्ध भए पनि हुड्को लय र ताल कतै लिपिबद्ध नभएकाले यसको संरक्षण गरिनुपर्ने हुड्कोविज्ञ मेलौली नगरपालिका–७ का ६९ वर्षीय मनोहर परियारले बताउनुभयो । उहाँले हुड्कोको ‘धाउँ कुति धाउँ’ लय/ताल बढी प्रयोगमा रहेकाले अन्य ताल खोजी गरेर भडाहासमेत लिपिबद्ध गर्ने धोको हो तर यसका लागि कतैबाट सहयोग नपाएको बताउनुभयो । बैतडी जिल्लाभरि भडाहा गाएर हुड्को बजाउन सक्ने दुई÷चार जनाभन्दा बढी नभएको उहाँले बताउनुभयो । 

हुड्को बजाउने पुराना पुस्ता डाँडामाथिको जून भएकाले यसको संरक्षण हुनु पर्छ भन्ने सन्देश दिनका लागि विद्यालयको वार्षिकोत्वसका अवसरमा विज्ञानसँगै हुड्को नाच प्रदर्शन गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो । 

विज्ञान प्रर्शनी अन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले बनाएका हाइड्रालिक पुल, जेसिबी, मिनी वाटर पम्प, मानव मुटु, मिर्गौला र सूक्ष्मदर्शक यन्त्र राखिएका थिए । विज्ञान प्रदर्शनी र हुड्केउली नाच हेर्न अभिभावकसमेत विद्यालयमा जम्मा भएका थिए ।  

वीरेन्द्र माविले स्थानीय सरकारले तोकेको पाठ्यक्रमसँगै अतिरिक्त कक्षाका रूपमा सङ्गीत, वाद्यवादन, दमाहा जस्ता विषयको नियमित कक्षा सञ्चालन गरिरहेको छ । यसका साथै विद्यालयमा प्राविधिक धारतर्फ कम्युटर विज्ञान र सिभिल इन्जिनियरिङको पढाइसमेत भइरहेको छ ।  

चालु शैक्षिक सत्रदेखि विद्यालयले अङ्ग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेपछि विद्यालयप्रति आकर्षण बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान चन्दले बताउनुभयो । विद्यालयमा करिब छ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक र स्थानीय तहका सरकारले स्थानीय कला संस्कृति, वेशभूषाको संरक्षण गर्न हातेमालो गरी अघि बढ्न सके सामुदायिक विद्यालयलाई नमुना बनाउन सकिने अभिभावक महेशदत्त भट्टले बताउनुभयो ।