संवत् २०६७ मा सन्त नेता कृष्णप्रसाद भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा किसुनजीको जन्मदिनको धुमधामको तयारी थियो । समाजका विभिन्न तह र तप्काका लब्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो । किसुनजीको जन्मदिनमा सरिक हुन गएका धेरैले उपहार बोकेर गएका थिए । किसुनजीलाई जन्मदिनको शुभकामना दिनेहरूको हातमा उपहार देखेपछि नेता पिएल सिंहलाई मनमा के लाग्यो कुन्नी उहाँले वरपर हेर्नुभयो र छेउमा रहेको फूलको गमला उठाएर किसुनजीलाई “ह्याप्पी बर्थडे किसुनजी” भन्दै फूलको गमला नै टक्र्याउनुभयो । आश्रम स्थलमा हाँसोको फोहोरा छुट्यो । मैले भने किसुनजीलाई गगन थापासँगै सम्पादन गरेको किताब ‘नेपाली कांग्रेसका ऐतिहासिक दस्ताबेजहरू’ उपहार स्वरूप टक्र्याएको थिएँ । त्यो भव्य जन्मोत्सव किसुनजीको अन्तिम बन्न पुग्यो । पिएल सिंहसँग त्यस दिन हामीले अनेक विषयमा गफिएका थियौँ । अमिता कपालीको हप्की दप्पी चल्ने ठाउँ पिएल सिंहको रवाफ चलिरहेको थियो । पिएल दाई रसिक नेता हुनुहुन्थ्यो । उहाँको ‘सेन्स अफ ह्युमर’ बिछट्ट प्रकृतिको थियो ।
पिएल सिंहले जीवनमा अनेक अवतार बाँच्नुभयो । गणेशमानको परिवार नै उहाँको परिवार बन्यो । उहाँ सर्वमान्य नेता गणेशमान सिंहको ‘धर्मपुत्र’ का रूपमा चिनिनुभयो । खासमा उहाँ पञ्चायत कालको प्रतिकूल दिनमा गणेशमान सिंहको परिवारको सारथि हुनुहुन्थ्यो, विश्वासपात्र हुनुहुन्थ्यो र अभिवाकसमेत । त्यो कुराको मङ्गलादेवी सिंहले मुक्तकण्ठले अनेकन ठाउँमा प्रशंसासहित उल्लेख गर्नुभएको छ । गणेशमानको परिवार विशेष गरी गणेशमान र मङ्गलादेवी सिंह दुवै जना राजनीतिमा संलग्न भएकाले र गणेशमान आठ वर्ष लामो जेल बसाइपछि बिपीसँगै निर्वासनमा भएका बेला पारिवारिक दाउपेचमा गणेशमानको पुस्तैनी सम्पत्ति जोगाउन पिएल सिंहले चतुरतापूर्वक भूमिका खेल्नुभएको थियो ।
चौध वर्ष लामो त्यो कानुनी लडाइँलाई पिएल दाइले सुरक्षित अवतरण गराउनुभएको थियो । त्यसो नहुँदो हो त चाक्सीबारीको घर गणेशमान हुँदै प्रकाशमान सिंहको हिस्सामा आउने थिएन । गणेशमान आफ्नो जीवनका आखिरी समयमा चाक्सीबारीको घरमा हुनुहुन्थेन । उहाँ ललितपुरमा रहनुभएको थियो ।
नेपाली कांग्रेसको पहिलो प्रवक्ता
नेपाली कांग्रेस पार्टीको इतिहासमा कसैले पहिलो प्रवक्ताको उपाधि पाएको थियो र भूमिका निभाएका थिए भने त्यो व्यक्ति पिएल सिंह हुनुहुन्थ्यो । मैले त्यो कुरा सिके प्रसाईं लिखित कुनै पुस्तकमा पढेको थिएँ । अहिले मैले पत्रकार किशोर नेपालद्वारा लिखित महेन्द्रनारायण निधिको जीवनवृत्तसम्बन्धी पुस्तक ‘नेपालका निधि’ भन्ने पुस्तक पढ्दै छु । त्यो पुस्तकमा पिएल सिंहको सङ्क्षिप्त चर्चा छ । २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रहको आह्वान गरेको थियो । त्यो सत्याग्रहको आह्वानलगत्तै कांग्रेसका शीर्ष नेताहरू गिरफ्तारीमा परेका थिए । सत्याग्रहले सरकारमाथि चौतर्फी दबाब बढाउँदै राष्ट्रिय आकार ग्रहण गरेको थियो । देशभरका जेलहरू भरिने क्रम जारी थियो ।
त्यसैबेला अचानक काठमाडौँका रणनीतिक महìवका स्थलहरूमा बम पड्कियो । शान्तिपूर्ण रूपमा भएको पञ्चायतविरुद्धको प्रतिरोधलाई हिंसाको नौबत लाग्यो । भलै त्यो बमकान्डको जिम्मा रामराजाप्रसाद सिंहले लिनुभयो तर त्यो बम काण्डमा रामराजाप्रसाद सिंहको मात्र हात थियो भनेर यकिन गर्न सक्ने अवस्था छैन । नेपाली कांग्रेसले अहिंसात्मक गतिविधिको दरमियानमा हिंसात्मक घटना भएपछि सत्याग्रहको आह्वानलाई स्थगित गर्ने निर्णय गर्यो । शीर्ष नेता सबै जेलमा हुनुहुन्थ्यो । जे निर्णय हुन्थ्यो अनौपचारिक जस्तो थिए तर पार्टीले एउटा ठुलो राजनीतिक कार्यक्रमलाई स्थगित गर्न कसै न कसैले औपचारिक वक्तव्य निकाल्नुपथ्र्याे, सत्याग्रह स्थगनको वक्तव्य नेपाली कांग्रेस पार्टीको प्रवक्ताको हैसियतले पिएल सिंहले जारी गर्नुभएको थियो ।
चाक्सीबारी निवासमा हक
म पछिल्लो पटक कात्तिक महिना मेरा मित्र तरुण दलका केन्द्रीय सदस्य कमल घिमिरेका साथ चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेको थिएँ । हामी बैठक कक्षमा बस्दै गर्दा पिएल सिंह त्यहाँ झुल्किनुभएको थियो । उहाँ खासमा शौचालय प्रयोग गर्न निस्कँदा हामीले उहाँको दर्शन पाएका रहेछौँ । उहाँलाई एउटा पुरुष नर्सको व्यवस्था गरिएको थियो । सिर्जना भाउजूले आफ्नो जेठाजुलाई देखाउनुभएको स्नेह देखेर हामी भावुक भएका थियौँ । र मलाई मनमनै लागेको थियो पिएल सिंहको यो घरमा रहने अधिकार छ । आज पिएल दाइले अन्तिम सास पनि त्यही घरमा छाड्नुभएको समाचार बिहान सामाजिक सञ्जालमार्फत थाहा पाएँ । गत महिना मात्रै दमनाथ ढुङ्गाना बित्नुभयो । उहाँको नाममा केही लेखिन सिवाय फेसबुकमा एउटा श्रद्धाञ्जली ।
नगरबाट एकै पटक ‘महानगर’ को मेयर
तीन दिनअगाडि मात्र ३० औँ महानगर दिवसको दिन मङ्सिर २९ गते काठमाडौँ महानगरपालिकाले काठमाडौँ नगरलाई महानगरको दर्जा दिलाउने श्रेय पाउनुभएका पिएल सिंहलाई सम्मान गरेको कुरा सिर्जना सिंहको सञ्जालबाट थाहा पाएको थिएँ । बालेन इतिहासप्रति कृतज्ञ प्रतित भएका थिए तर उक्त समारोहमा पिएल सिंह सशरीर उपस्थित हुनुहुन्थेन त्यहाँ उक्त पुरस्कार मिता सिंहले ग्रहण गर्नुभएको थियो । काठमाडौँ नगरको मेयर निर्वाचित हुनुभएका पिएल सिंह एकै पटक २०५२ सालमा काठमाडौँ महानगरको मेयरमा परिवर्तित हुनुभएको थियो । उहाँले काठमाडौँ महानगरलाई विश्वका अनेकन नगरसँग भगिनी सम्बन्धमा बाँध्नुभयो र काठमाडौँ महानगरका पूर्वाधार निर्माणमा विशेष जोड दिनुभएको थियो ।
उहाँ दोस्रो पटकको स्थानीय निर्वाचनमा उम्मेदवार बन्नुभएन । टिकट त उहाँकै उपमेयर नवीन्द्रराज जोशीसमेतले पाउनु भएन । सत्ताको अन्तरसङ्घर्षमा त्यसको लामो कहानी यहाँ जरुरी रहेन । नेपाली कांग्रेसको तर्फबाट मनमोहन भट्टराईले उक्त प्रतिस्पर्धामा भाग लिनुभयो र पराजित हुनुभयो । त्यसयता काठमाडौँको महानगरको मेयरमा नेपाली कांग्रेसको उम्मेदवारले विजय प्राप्त गरेको छैन ।
सांसद र मन्त्री
२०५६ को आमनिर्वाचनमा पिएल सिंह सांसदका रूपमा निर्वाचित हुनुभयो । उहाँ सांसद मात्र निर्वाचित हुनुभएन, शेरबहादुर देउवाको क्याबिनेटमा जनसंख्या वातावरणमन्त्रीसमेत बन्नुभयो । भर्खर भर्खर राजधानी आमनिर्वाचन भए लगत्तै उहाँले आमनिर्वाचनका क्रममा आफ्नो प्रचारप्रसारका लागि टाँसेका पोस्टरहरू उप्काइरहेका र भित्ता सफा गरिरहेका तस्बिर पत्रपत्रिकामा छापिएका थिए । उहाँ आफूले गरेको फोहोर आफैँ सफा गर्नुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो । स्वच्छ सफा हराभरा काठमाडौँ महानगर उहाँको नारा थियो । पिएलको मन्त्री अवतार धेरैलाई याद पनि छैन ।
जसरी दमननाथ ढुङ्गानाको मृत्युपछिको परिचय पूर्वसभामुखमा दमनाथ खुम्चिए जस्तो भयो । आज पिएल सिंहको परिचय पनि काठमाडौँका पूर्वमेयरमा खुम्चिएको देखिँदै छ । न त दमननाथ ढुङ्गानाको परिचय पूर्वसभामुखमा मात्र खुम्चिनु उहाँको जीवनको लागि न्याय हुन जान्थ्यो, न अहिले पिएल सिंहका लागि पूर्वमेयर मात्रै उहाँको जीवनका लागि न्याय हुन जान्छ । २०४८ को आमनिर्वाचनमा सिङ्गो काठमाडौँ जिल्लामा नेपाली कांग्रेस एक स्थानमा मात्र विजयी भएको थियो, ती व्यक्ति हुनुहुन्थ्यो वकिल दमननाथ ढुङ्गाना । गणेशमान सिंहको परिवारका श्रीमती र छोरा आमनिर्वाचनमा पराजित हुनुभएको थियो । त्यस पृष्ठभूमिमा २०४९ को निर्वाचनमा पिएल सिंहको काठमाडौँ नगरको मेयरमा विजेता हुनु चमत्कार नै थियो । उहाँ जमिनसँग जोडिएका जनताको सुख दुःखको भरोसामन्द साथी हुनुहुन्थ्यो । भनौँ उहाँले सर्वमान्य नेता गणेशमान सिंहको परिवारको साख मतपत्रमार्फत बचाउनुभएको थियो ।
राजनीतिबाट सन्न्यास
पिएल सिंह एक पटक मेयर बन्नुभयो र एक पटक सांसद बन्नुभयो । उहाँ सांसद बनेको २०५६ को संसद्को आयु राजा ज्ञानेन्द्रले अल्पायु बनाइदिए । त्यसपछि २०५६ को संसद्ले २०६२/६३ को आन्दोलनको सफलतासँगै अन्तरिम संसद्को आकार ग्रहण गर्यो । अलग व्यवस्थामा निर्वाचित हुनुभएका उहाँलाई सांसदको शपथ लिन मन लागेन । त्यो दुर्लभ लहरमा उहाँका प्रिय नेता किसुनजी मात्रै हुनुहुन्थ्यो । उहाँ सांसद बनेर नयाँ शपथ लिएर नयाँ व्यवस्थामा जानबाट आफैँलाई रोक्नुभयो । उहाँ आफ्नो अन्तर्मनको आवाजको बर्खिलाफमा रहेर सांसद पदका लागि लोभिनुभएन । हिन्दु परम्परा अनुसार उहाँको ब्रह्मचार्य गृहस्थ र वानप्रस्थको अधिकांश समय राजनीतिमा बित्यो, काठमाडौँको सार्वजनिक जीवनको साक्षी भोक्ता बनेर ।
२०६२/६३ पछि राजनीतिबाट स्वनिर्वासनपश्चात् उहाँको सन्न्यास यात्रा सुरु भयो । उहाँ आफ्नो जीवनको लक्ष्यको अनन्त यात्रा र अनन्त खोजीमा लाग्नुभयो । पुनः उहाँको जीवनका मनमौजी दिन सुरु भए । सहरमा एउटा आधुनिक फकिर बनेर आखिरी दिनहरू बिताउनुभयो । जहिल्यै हाँसी मजाक गर्ने, कहिले तनावमा नदेखिने । एउटा मुक्त आत्मा बनेर उहाँले देह त्याग गर्नुभयो । आजीवन अविवाहित उहाँको युवावय गणेशमान सिंहको परिवारको रेखदेखमा मात्र सीमित रहेन, पञ्चायतविरुद्ध प्रतिरोध गर्ने नेताका रूपमा उहाँ अब्बल साबित हुनुभयो । सङ्कटका वर्षमा कांग्रेस पार्टीको प्रवक्ता बन्नुभयो। निर्वाचन मार्फत दुई पटक लाभको पदमा पुग्नुभएका उहाँ निर्दोष हाँसो जस्तै उहाँको व्यक्तित्वमा अझ चमक थपेर बेदाग निस्किनुभएको थियो । स्फटिक जस्तै पवित्र उहाँको इमान थियो । उहाँ ढोँगबाट सर्वथा मुक्त हुनुहुन्थ्यो । काठमाडौँ नगरमा, कांग्रेस वृत्तमा र सिङ्गो देशमा त्यो उन्मुक्त हाँसो एकाएक गायब भएको छ, ब्रह्मलीन बन्न पुगेको छ । अब उप्रान्त पिएल दाइको हँसिलो मुहार प्रत्यक्ष देखेर हामीले हाम्रो दुःख र पीडा बिर्सन पाउने छैनौँ ।