• ८ वैशाख २०८२, सोमबार

एक वर्षपछि ट्राफिक लाइट सञ्चालन

blog

ट्राफिक लाइटबारे सवारीचालकलाई सिकाउँदै प्रहरी । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस १ गते । सबैभन्दा बढी यातायातका साधन आवागमन गर्ने नेपालगन्जका विभिन्न पाँच वटा चोकमा ट्राफिक व्यवस्थापनका लागि निर्माण गरेर तयार पारिएका ट्राफिक लाइट जडान भएको एक वर्षपछि सञ्चालनमा ल्याइएका छन् । 

सहरको अति नै व्यस्त मानिने नेपालगन्जको धम्बोझी चोकमा सबैभन्दा पहिले ट्राफिक लाइट सञ्चालनमा ल्याएर सवारीचालक र सर्वसाधारणलाई त्यसको उपयोगबारे सिकाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले धम्बोझी चोकको ट्राफिक लाइट सञ्चालनमा ल्याएर सोबारे त्यहाँ आवागमन गर्ने सवारीचालक तथा सर्वसाधारणलाई उपयोगबारे सिकाउने काम भइरहेको बताउनुभयो । 

उहाँले पहिलो चरणमा धम्बोझी चोकमा लाइट सञ्चालन गरिएको जनाउँदै त्यसपछि क्रमशः पुष्पलाल चोक, गणेशमान चोक, बिपी चोक र राँझा चोकमा पनि सञ्चालन गरिने बताउनुभयो । 

ट्राफिक लाइट सञ्चालन गर्दा एउटा चोकमा कम्तीमा पनि पाँच जना ट्राफिक प्रहरी आवश्यक पर्ने हुँदा जनशक्ति तथा अन्य केही प्राविधिक कारणले नेपालगन्जमा निर्माण गरिएका ट्राफिक लाइट ढिला गरी सञ्चालन हुन सकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

नेपालगन्जका विभिन्न चोकमा ट्राफिक लाइट जडान भएको करिब एक वर्षपछि हाल आएर सञ्चालन गर्ने प्रक्रिया सुरु गरिएको छ । यसअघि केही ठाउँमा सञ्चालनमा ल्याइए पनि तयारी पूरा नभएको भन्दै स्थगित गरिएको थियो ।

यसअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट निर्माणको योजना पास गरेर शिलान्याससमेत गर्नुभएको थियो ।