गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्व समूहको प्यानल विजयी भएको छ । सङ्घको २० औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनबाट शर्मा नेतृत्वको प्यानलै विजयी भएको हो ।
मतगणना अनुसार शर्मा नेतृत्वको समूहले गङ्गा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
अध्यक्ष पदमा शर्माले दुई हजार १५० मत पाएर विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिस्पर्धी गङ्गा थापाले एक हजार ३७० मत प्राप्त गर्नुभयो । यसै गरी वरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले दुई हजार ६० मत प्राप्त गरेर निवार्चित हुनुभयो । उहाँको प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार ५९७ मत मात्रै प्राप्त गर्नुभयो । उपाध्यक्षमा दुई हजार ११ मत ल्याएर बबिता घिमिरे विजयी हुनुभयो ।
उपाध्यक्षकी अर्की उम्मेदवार मनीषा कोइरालाले एक हजार ५७० मत पाउनुभयो । यस्तै महासचिवमा देवकुमारी आचार्य निर्वाचित हुनुभयो । आचार्यले एक हजार ७३३ मत ल्याउँदा प्रतिस्पर्धी मीनाकुमारी कार्कीको एक हजार ३४७ र जानकी धामीको ६२२ मत आएको छ ।
यस्तै सचिवमा दुई हजार ९० मतसहित बेली पौडेलले जित हासिल गर्नुभयो भने जया मिश्रको एक हजार ५७३ मत आएको छ । कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार १८८ मत ल्याएर विजयी हुनुभयो भने रमादेवी पहारीले एक हजार ४८२ मत प्राप्त गर्नुभयो ।
अध्यक्ष पदमा निर्वाचित चन्द्रकला शर्माले जिल्लामा दरबन्दी नखोलिँदा कार्यरत नर्सलाई बिरामीको चाप भएको भन्दै नर्स, बिरामीको अनुपात घटाउन पहल गर्ने बताउनुभयो । उहाँले नर्सहरूले आठ हजारदेखि १५ हजारसम्ममा काम गरिरहेको उल्लेख गर्दै धेरैजसो अस्पतालले श्रम शोषण गरिरहेको बताउनुभयो । यो समस्या हटाउन अस्पतालको स्वीकृति र नवीकरण गर्दा नर्सको तलब कति छ भनेर हेरेर मात्र अस्पतालको नवीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले स्तरवृद्धि नहुने विषयलाई सङ्घले प्राथमिकतामा राखेको बताउनुभयो । पछिल्लो समय नर्स बिदेसिने क्रम बढेको भन्दै त्यसलाई रोक्न पहल गर्ने उहाँको प्रतिबद्धता छ ।