• ३० चैत २०८१, शनिबार

अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी अप्ठ्याराबारे सुझाव दिन आग्रह

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल आइतबार अङ्ग प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला ‘द हिमालयन अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन’ समापन कार्यक्रममा सहभागी हुनुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी वा नीति नियम आवश्यक भए विज्ञको रायसहित सुझाव पेस गर्न आग्रह गर्नुभएको छ । आइतबार अङ्ग प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला ‘द हिमालयन अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन’ समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  

उहाँले यसै वर्षभित्र देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले मस्तिष्क मृत्युपश्चात्को अङ्गदाता तथा ग्रहणकर्ताको प्रतीक्षा सूचीसहितको राष्ट्रिय अभिलेखको अनलाइन सफ्टवेयरको शुभारम्भसमेत गर्नुभएको थियो । उक्त सफ्टवेयरमा अङ्गदानसम्बन्धी अनलाइन फाराम भर्न सकिने, अङ्ग फेल भएका बिरामीहरूको विवरण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अङ्ग प्रत्यारोपण नियमावलीमा भएबमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ । यस क्रममा उहाँले प्रत्यारोपणको सेवामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको प्रशंसा गर्नुभएको थियो । 

यसअघि शनिबार उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदारहँदै पनि सरकारले प्रत्यारोपण सेवालाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले मिर्गौला फेल भएर मृत्युवरण गर्नुपर्ने अवस्थामा कमी भई सर्वसाधारण नेपालीलाई ठुलो राहत पुगेको बताउनुभयो । विभिन्न देशका प्रत्यारोपणसम्बन्धी विज्ञहरूले विकसित देशमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा भएका उपलब्धिबारे प्रस्तुति दिएका थिए । 

नेपालमा भने अङ्ग प्रत्यारोपणसम्बन्धी कानुन बने पनि ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण हुन सकेको छैन । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा भएका नयाँ नयाँ गतिविधिबारेमा ज्ञान आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । डा. श्रेष्ठले सम्मेलनमा प्रत्यारोपण क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरू एकै थलोमा भेला भएर प्रत्यारोपण सेवालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । 

दुईदिने सम्मेलनमा प्रत्यारोपणसँग जोडिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरू गरी ३०० बढीको सहभागिता रहेको थियो । अङ्ग प्रत्यारोपणमा भएका नयाँ नयाँ प्रविधि तथा विकासका बारेमा सूचना, विचार, ज्ञान, सिप आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन नेपाल (एसओटीएन) को आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, भारतलगायतका विज्ञहरूले प्रस्तुति दिएका छन् ।