गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १ गते । त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त गरेको छ । शनिबार साँझ बसेको कार्यकारी परिषद्को बैठकले डिन तथा निर्देशक नियुक्त गरेको हो । त्रिविका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर बज्राचार्य र व्यवस्थापन सङ्कायमा प्राडा महानन्द चालिसे डिन नियुक्त हुनुभएको छ ।
त्यस्तै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा प्राडा दुबिनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र सङ्कायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शङ्कर खनाल डिन नियुक्त हुनुभएको छ ।
त्यस्तै परिषद्को बैठकले दुई अनुसन्धान केन्द्र र एक निर्देशनालयमा निर्देशकहरू पनि नियुक्त गरेको छ । जस अनुसार शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को निर्देशकमा डा. राजेन्द्र कुँवर, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र
(रिकास्ट) को निर्देशकमा प्राडा मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा डा. लक्ष्मीकान्त शर्मा नियुक्त हुनुभएको छ ।
त्रिविको गत बिहीबार सम्पन्न वार्षिक साधारण सभा (सिनेट) बैठकमा प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले पुस ७ गतेभित्र रिक्त डिन र निर्देशकहरू नियुक्त गरिसक्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि उपकुलपतिको अध्यक्षतामा रहने कार्यकारी परिषद्ले शनिबार नै बैठक राखेर पदाधिकारी नियुक्त गरेको हो । हाल ती निकायहरू निमित्तको भरमा चलेका थिए ।
क्षमतावान र दक्ष व्यक्तिलाई नियुक्त गर्न भन्दै परिषद्ले डिन नियुक्तिका लागि कार्यविधि जारी गरी दरखास्त आह्वान गरेको थियो । तर कार्यविधिको नाममा आफू निकटका व्यक्तिलाई मात्रै नियुक्ति दिन खोजेको भन्दै विद्यार्थी सङ्गठनहरूले विरोध गरेका थिए ।
त्रिविले भने कार्यविधिले तोकेको मापदण्ड पूरा भएका व्यक्तिलाई नियुक्त गरिएको दाबी गरेको छ । तर नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी निकटका व्यक्तिलाई नियुक्त गरिएको आरोप त्रिविलाई लागेको छ ।