• ११ पुस २०८१, बिहिबार

धादिङबेसीमा नेवा : खाना उत्सव

blog

मुरारी अधिकारी 

धादिङ, मङ्सिर ३० गते । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको छ ।  'सडकमै खाऔँ, सडकमै रमाऔं, सडकमै कमाऔं' भन्ने मूल नाराका साथ झिंगु नेवाः समाज धादिङले खाना उत्सवको आयोजना गरेको हो ।

नेवारी समुदायको भाषा, संस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक नेवाः खाना उत्सव लोप हुँदै गएको नेवारी संस्कृतिको जगेर्ना गर्ने विश्वास लिएको श्रेष्ठको भनाइ छ । 

मानिसहरुको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला थपेको नीलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरम छोइला, सोयाबिन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने छ । पहिलो प्रयास भएपनि सडक खाना उत्सवमा १५ सयभन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । सडकका दायाँबायाँ नेवारी खानाका परिकार राखिएको  छ । नेवारी परिकार कस्तो हुने रहेछ भनेर स्वाद चाख्न आउनेहरु बढी छन् । खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन आउनेहरूको उत्साह देख्दा दुुई दिनसम्म चल्ने महोत्सवमा १५ सयभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 

शनिबारदेखि सुरु भएको सडक महोत्सव आइतबारसम्म चल्नेछ । दिउँसो २ वजेदेखि साँझ ८ वजे चल्ने रोड महोत्सव नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा झिंगु नेवाः समाज धादिङले आयोजना गरेको हो ।