• ८ वैशाख २०८२, सोमबार

‘प्रतिबद्धताका साथ जनतामा जान्छौँ’

blog

कार्यक्रममा सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता । तस्बिर : भुवन कार्की

रुपन्देही समाचारदाता

रुपन्देही, मङ्सिर ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नयाँ प्रतिबद्धताका साथ जनतामा जाने दाबी गर्नुभयो । 

आफू प्रधानमन्त्री भएको १८ महिनामा देशको लय गुमाएको अर्थतन्त्रलाई सही मार्गमा ल्याएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले दुई छिमेकी राष्ट्रिय भारत र चीनका भ्रमणका क्रममा गरेको निर्णय ऐतिहासिक र दूरगामी छन् । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि माथि पुगेको छ । जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ ।”

रुपन्देहीमा शनिबार पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै अनुभव नभए पनि भौतिक पूर्वाधारका क्षेत्रमा मध्यपहाडी र पुष्पलाल मार्ग आफ्नै पहलमा अघि बढेको बताउनुभयो । दैनिक १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त देशलाई उन्मुक्ति गर्न कुलमान जस्ता विज्ञलाई विद्युत् प्राधिकरणमा ल्याएर लोडसेडिङमुक्त देश बनाएको उहाँको दाबी थियो ।

उहाँले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गर्दै माओवादी केन्द्र सकियो भन्नेलाई आउँदो निर्वाचनबाट २०६४ कै अवस्थामा पु¥याएर देखाइदिने दाबी पनि गर्नुभयो । 

माओवादी सिद्धियो भन्नेहरूलाई उपचुनावले सङ्केत देखाइसकेको बताउँदै उहाँले विगतमा भएका केही त्रुटिलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने दाबी गर्नुभयो । 

कार्यक्रममा जनमुक्ति पार्टी माओवादी केन्द्रमा समाहित भएको घोषणा गरेको थियो । घोषणापछि बोल्दै जनमुक्ति पार्टीका महासचिव राम परियारले प्रचण्डको नेतृत्वमा अब देश समाजवादतर्फ उन्मुख हुने विचार व्यक्त गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनालले माओवादीले भ्रष्टाचारविरुद्धको अभियान थालेकाले सत्ताबाट हट्नु परेको बताउँदै अब जनताको साथ लिएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । 

माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा माओवादी नेता तिलक परियार, सोनिया यादव, जिल्ला संयोजक निर्मल जिसीलगायतले धारणा राख्दै माओवादी केन्द्रले आगामी चुनावमा सहज जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अन्य पार्टीबाट तीन सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।