गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३० गते । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको थप आम्दानी बढाउन सिट सङ्ख्या बढाउन सकिने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घको आयोजनामा भएको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा उहाँले निजी मेडिकल कलेजको सिट बढाएर कलेजको आम्दानी बढाउन सकिने बताउनुभएको हो ।
मन्त्री पौडेलले निजी मेडिकल कलेजले पिजी तहमा अध्ययनरत विद्यार्थीलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आग्रह गर्नुभयो । विदेशी विद्यार्थी नेपाल आएर अध्ययन गर्न इच्छुक रहेको भन्दै उहाँले नेपालमा अध्ययन गर्न सक्ने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) अध्ययन गरिरहेका विद्यार्थीलाई सरकारी सरह ४८ हजार रुपियाँ निर्वाह भत्ता दिनुपर्ने बताउनुभयो । एउटै तहको अध्ययन गर्ने विद्यार्थीले सरकारी र निजीमा फरक फरक सुविधा हुनु राम्रोधधध नभएको भन्दै उनीहरूको आम्दानीका लागि सिट सङ्ख्या बढाउन सकिने बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले धेरै मेडिकल कलेजको अहिले पाइरहेको सिटका लागि पूर्वाधारसमेत नभएको बताउनुभयो । उहाँले आयोग कानुन अनुसार चल्ने भन्दै यत्तिकै सिट बढाउने पक्षमा आयोग नरहेको बताउनुभयो ।