• ११ पुस २०८१, बिहिबार

‘नवीन योजनाका साथ कार्यकर्ता पार्टीको काममा जुट्नुपर्छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ।

काठमाडौँ, मङ्सिर २९ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। 

एमाले लमजुङ–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो। 

“तपाईंहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिनेगरी काम गर्नुस्”, उपमहासचिव गुरूङले भन्नुभयो, “इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला।” 

अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उहाँले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो। 

उपमहासचिव गुरूङले पार्टी नेतृत्व र सरकार विरूद्धको घेराबन्दी तोड्नेगरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताउनुभयो। 

उहाँले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। 

आफ्नो पार्टीले केही समयअघि राजधानीमा आयोजना गरेको जनजागरण सभामा देखिएको सहभागितालाई लिएर सन्तुष्ट हुन नसकिने जनाउँदै उहाँले विभिन्न साङ्गठनिक जिम्मेवारीमा रहेकाले थप मेहनत गर्नुपर्ने बताउनुभयो। रासस