• ७ पुस २०८१, आइतबार

अन्ततः नारायणघाट (कथा)

blog

मुमाको देहावसान भएको २५ वर्षपछि हरिकृष्णको माहिला दाइको स्वर्गारोहण भयो । हरिकृष्णले दाइको शवको अन्तिम संस्कार गर्न नारायणघाटतिर लगे । त्यो घाट हरिकृष्णकै दाइकै नेतृत्वमा बनाइएको थियो ।   

त्यसबेला गाउँका मानिसको अन्तिम संस्कार गर्न कोशीको सट्टा नजिकैको नारायणघाट लैजाने बानी परिसकेको थियो । त्यसैले हरिकृष्णलाई पनि दाइको अन्तिम संस्कार त्यहाँ गर्न कुनै सङ्कोच लागेन । दाइको छोरा नभएकाले हरिकृष्णले नै दागबत्ती दिनुपर्ने भएको थियो । दागबत्ती लिएर चितामा तीन पटक परिक्रमा गर्दैगर्दा उसलाई विगतको घटना एकाएक याद आयो । 

२५ वर्षअघि दसैँको फूलपातीका दिन हरिकृष्ण काठमाडौँबाट हतारिँदै गाउँको घर पुगेको थियो । काठमाडौँ हुँदा नै उसले मुमा बिरामी भएको खबर पाएको थियो तर अहिले त्यस्तो चिन्ता लिनुपर्ने अवस्था छैन भनेर दाइले खबर गरेपछि दसैँको बिदा सुरु भएपछि मात्र गाउँ जाने निर्णय गरेका थिए जागिरे दम्पतीले । घर पुग्दा मात्र उसले थाहा पायो, मुमा सिकिस्त बिरामी परेको । खै ! त्यस्तो गम्भीर रोग त थिएन मुमालाई तर केही वर्षअघि काठमाडौँमा देखाउँदा अल्सरले आन्द्रा प्वाल पारिसकेको र बुढेसकालमा अपरेसन गर्न मिल्दैन भनेको याद आयो उसलाई । त्योबाहेक अहिले मुमालाई दमले पनि च्यापेको रहेछ । सामान्य तकियामा सुत्न नसकेर दुई/तीन वटा तकिया खप्ट्याई टाउको अड्याएर सुत्नुहुँदो रहेछ । दसैँ मान्ने उत्साहले टोलभरि कसैको फुर्सद थिएन । फूलपातीको दिन भएकाले मुमाले दुई/तीन पटक खाजा खायौ ? भनेर सोध्नुभयो । 

कान्छा छोरा भएकाले मुमाले सायद उसलाई नै पर्खेर बस्नुभएको थियो कि ? आखिर बोल्दाबोल्दै ७६ वर्षको उमेरमा परिवारलाई छाडेर जानुभयो । अब अन्तिम संस्कार कता गर्ने भन्ने कुरा उठ्न थाल्यो । अन्तिम संस्कार गर्न कोशी लैजान बाटो खराब भएको र मलामी पनि नपाउने भएकाले विकल्पका रूपमा नजिकै अन्त्येष्टि गर्ने कि भन्ने मत पनि आयो । उसको माहिलो दाइको नेतृत्वमा गाउँनजिकै अन्तिम संस्कार स्थल नारायणघाट भर्खरै बनेको थियो । 

उसलाई राम्ररी थाहा छ, त्यो नारायणघाट बनाउन उसको दाइले धेरै दुःख गरेको थियो । गाउँका साथीभाइको साथ लिएर, भिडियो देखाएर र आफ्नो गाउँबाहिरसमेत पुगेर घाट बनाउन दाइले सहयोग सङ्कलन गरेका थिए । उसको माहिलो दाइले गाउँमा समाजसेवीको छवि बनाएका थिए । रातबिहान केही नभनी खटेर घाट निर्माण कार्य सम्पन्न गरिएको थियो । माहिलो दाइकै नेतृत्वमा उपभोक्ता समिति बनाएर गाउँमा बाटो, कुलो, खानेपानी, वन, पाटीलगायत विकास निर्माणका काम भएका थिए । दाइ गाउँका स्कुल, कलेज, पुस्तकालय, रेडक्रसका सभापतिसमेत बनेका थिए । पूर्वाग्रह राख्नेबाहेक सबैले उनलाई समाजसेवीका रूपमा सम्मान गर्थे ।  

उसको मुमाको देहावसान हुनु केही दिनअघि मात्र एक व्यक्तिको मृत्यु हुँदा दाइलगायत समाजसेवीले सम्झाइबुझाई नारायणघाटमा दाहसंस्कार गर्न लगाएका रहेछन् जुन मलाई पछि मात्र थाहा भयो । उसबेला सबैको ध्यान नारायणघाटमै दाहसंस्कार गर्ने बानी बसाउनेमा केन्द्रित देखिन्थ्यो । त्यसैले दाइले मुमाको अन्तिम संस्कार पनि उतै गराउनुपर्ने कुरा उठाउनुभयो । दाइ आफैँ अध्यक्ष भएर बनाएको र अरूलाई त्यता लैजान एक किसिमले बाध्य पारेकाले दाइलाई धर्मसङ्कट परेको हुँदो हो । दाइलाई आमाको अन्तिम संस्कार गर्न तामाकोशी लग्यो भने मेरो इज्जत र प्रतिष्ठा गुम्ने भयो भन्ने पीर पर्न थाल्यो होला । अरूलाई भन्न सजिलो तर आफूले गर्न गाह्रो भन्ने भनाइ दाइमा चरितार्थ हुँदै थियो । समाजसेवी हुन कति गाह्रो हुँदो रहेछ भन्ने कुरा उनले त्यतिबेला महसुस गरेको हुनु पर्छ । 

उसले सिधै दाइको कुरा नकार्न त सकेको थिएन तर नारायणघाट लाने कुरा उसको मनले रत्ती पनि स्वीकार्न सकेको थिएन । त्यही सालकै साउन महिनामा हिले जात्राताका ऊ गाउँ जाँदा आमालाई ‘दाइ खै’ भनेर सोध्दा हाँस्दै ‘मलाई पोल्न ठाउँ बनाउँदै छ’ भन्नुभएको थियो । मुमाको ठट्टा यथार्थमा परिणत हुन लागेको थियो । हरिकृष्ण शिक्षित र चेतनशील व्यक्ति भएकाले कसैले सम्झाउने आँट त गर्न सकेनन् । उसले समवेदना दिन आएका एक जना कुरा मिल्ने आफन्तलाई भने आफ्नो मनको कुरा राख्यो, “जहाँसुकै पनि गङ्गामा लगेर अन्तिम संस्कार गर्ने चलन छ । पश्चिमतिर छ/सात दिन लगाएर मलामीलाई ज्यालासमेत दिएर कालीगण्डकीमा पु¥याएर अन्तिम संस्कार गर्ने चलन मैले आफैँले देखेर आएको छु । जहाँ पायो त्यहाँ गर्न कहाँ मिल्छ र ?” उसको तर्क सुनेपछि आफन्तको चित्त बुझेछ क्यारे, उनले हुन त हो मात्र भने तर सायद समाजको डरले हो कि अरूको अगाडि भने पक्षविपक्षमा केही बोलेनन् ।   

हरिकृष्णलाई लागिरहेको थियो हाम्रो गरुड पुराण आदि धार्मिक ग्रन्थमा पनि कोशी र गङ्गामा अन्तिम संस्कार गर्न नसके पनि अस्तु या खरानी कोशीमा बगाए मात्र पनि मृत आत्माले मोक्ष पाउँछ र सिधै स्वर्ग जान पाउँछ । यहाँ भने किन गाउँलेहरू एकोहोरो लागिरहेका ? 

गाउँका जान्नेसुन्ने आएर वादविवाद गरिरहेका थिए तर ऊ अत्यन्त शोकाकुल र चिन्ताग्रस्त भएकाले कसैको कुरा सुनिरहेको थिएन । कान्छा भएर हो कि किन मुमाप्रति हरिकृष्णको अत्यन्त लगाव थियो तर पनि दाजुको अगाडि केही बोल्न सकिरहेको थिएन । उसले काठमाडौँबाट गाउँको घर गएका बेला अक्सर मुमा घरको पेटीमा घाम तापेर बस्नुभएको भेट्थ्यो । मुमासँग उसको यस्तो लगाव थियो कि मुमाको स्वर्गारोहण भएपछि पनि उसले घर जाँदा मुमा त्यही घरको पेटीमा बसिरहेको  देख्थ्यो र उसको भक्कानो फुटेर आउँथ्यो । मुमाको देहान्त भएपछि उसलाई भगवान्सँग पनि कम रिस उठेको हैन । सबै साथीका धेरै उमेरका मुमाहरू छँदै छन् मेरो मुमालाई मात्र किन छिटो लानु परेको होला भन्ने हुन्थ्यो उसलाई । 

अन्त्यमा उसको सानु दिदीले नारायणघाट लाने हो भने म गला सेरेर मर्र्छु भनेपछि उसको दाइलगायत कसैले चुइक्क गर्न सकेनन् र फकाउन र मनाउन आएकाहरू बिस्तारै आआफ्ना घरतिर लागे । त्यसपछि हरिकृष्णले आफ्ना कुलका दाजुभाइ र नातेदारको सहायताले मुमाको पार्थिव शरीरलाई दाहसंस्कार गर्न कोशीतिर नै लगे । गाउँलेहरूले उसको मुमाको शवयात्रा बहिष्कार गर्नु पर्छ भन्ने अनौपचारिक निर्णय गरे । दाइको त्यत्रो वर्ष समाजका लागि गरेको योगदान सबैले एकाएक बिर्सिए । उहाँको आमाको सम्बन्धमा निर्णय लिने परिवारका अन्य सदस्यको पनि अधिकार छ भन्ने सबैले बुझेर पनि बुझपचाए । कोही मलामी गएनन् । उसबेलाका गाउँका समाजसेवीले लासलाई जबरजस्ती खोसेर नारायणघाटतिर लानु पर्छ भन्ने पनि हल्ला चलाए । ऊ मुमा स्वर्गीय भएको दुःख र पीडाले छटपटाइरहेको थियो र विक्षिप्त जस्तै थियो । बुवा स्वर्गीय हुँदा अटुट रोएर नै कोशी पुगेको मान्छे स्वभावतः बुवाभन्दा पनि अति प्रिय मुमाको स्वर्गारोहण हुँदा रुन सकेन । त्यसबेला मानवीय गुण क्रोधले उसको दुःखलाई पराजित गरेको अवस्था थियो । उसका घनिष्ट साथीसमेत बहिष्कारलाई साथ दिँदै मलामी त के समवेदना दिनसम्म पनि आएनन् । 

हरिकृष्ण एकाएक तन्द्राबाट होसमा आए । मलामी आएकाहरू ऊतिर ट्वाल्ल परेर टोलाइरहेका थिए । ऊ दागबत्ती दिन तयार भयो र दागबत्ती दिने बेला उसले दाइलाई सम्झेर मनमनै भन्यो, “दाइ आज म तपाईंको अन्तिम संस्कार यहाँ तपाईले नै बनाउनुभएको घाटमा गर्दै छु । आज तपाईंको अधुरो इच्छा पूरा हुँदै छ । समाजले तपाईको मूल्याङ्कन गर्ने नै छ । तपाईंको आत्माले चिरशान्ति पाओस् भनी भगवान्सँग प्रार्थना गर्दछु ।” 

त्यसबेला दाइको स्कुलबाट सँगै एसएलसी दिएको र पढ्नका लागि काठमाडौँमा पनि सँगै बसेको साथी दाहसंस्कारको अन्त्यसम्म बसेका थिए । उनले अप्रत्यक्ष रूपमा उहीँ कोशी पु¥याउनुपर्ने तर्क गर्दै सुझाव दिए, “यहाँको खोलाको पानी खेततिर लगाएकाले तामाकोशी पुग्न पाउँदैन, त्यसैले अस्तु लगेर तामाकोशीमा बगाउनु पर्छ ।” उनको भनाइले उसलाई मुमाको अन्तिम संस्कार कहाँ गर्ने भन्ने कुरामा भएको विवाद झलझली सम्झना गराएको थियो ।

 

Author

प्राडा श्याम जोशी