• ८ वैशाख २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा पैदलयात्रीसहित चालक घाइते

blog

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर २८ गते । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् । कालीगण्डकी काेरिडोर अन्तर्गत रामपुर नगरपालिका-५ सानीअमराईमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीसहित चालक घाइते भएका हुन् ।

शुक्रबार बिहान बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको ग ८ प ६९१७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। घाइते हुनेहरुमा पैदलयात्री रामपुर नगरपालिका ५ भम्बक बस्ने ४० वर्षीय केशबहादुर सेन ठकुरी र सोही मोटरसाइकलका चालक पूर्वखोला गाउँपालिका १ सिलुवा बस्ने  २४ वर्षीय सुनिल सुनारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताउनुभयो ।  

साथै सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पूर्वखोला-१, का २४ वर्षीय जीवनकुमार चिदी सामान्य घाइते हुनुभएको छ । मर्निङवाकमा हिंडिरहनुभएका सेनलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । घाइतेमध्ये सेन र सुनारीलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो । 

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।