• ११ पुस २०८१, बिहिबार

परराष्ट्र मन्त्री डा. देउवा र युरोपियन युनियनका कमिसनरबिच भेटवार्ता

blog

काठमाडौँ, मङ्सिर २८ गते । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेसनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।

सो अवसरका उहाँहरूबिच नेपाल र युरोपियन युनियनबिचको सम्बन्ध र सहयोगका विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।  

उहाँहरूका बिचमा नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाइरहेको विषयमा पनि कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

त्यस भेटका अवसरमा मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा अति कम विकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि युरोपियन युनियनलाई आग्रह गर्नुभएको थियो । 

नेपाल अति कम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरूको सहयोगको अपेक्षा नेपालले गरिरहेको उहाँले बताउनुभयो । 

सो भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले युरोपियन युनियनले इयु नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट प्रोग्राम [टिप] नेपालमा सफलतापूर्वक कार्यान्वयनमा ल्याएकामा युरोपियन युनियनलाई धन्यवाद पनि दिनुभयो । सो कार्यक्रमले नेपालमा व्यापार तथा लगानीलाई प्रवर्धन गर्न सहयोग पुर्‍याएको जानकारी मन्त्री डा देउवाले कमिसनर जोजेफ सिकेलालाई गराउनुभयो । 

मन्त्री डा देउवाले नेपालको शान्ति प्रक्रियामा युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि उहाँलाई गराउनुभएको थियो ।