बुटवल समाचारदाता
बुटवल, मङ्सिर २८ गते । नेपालभरिकै सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएको भनी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको आयोजना र लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राविधिक सहयोगमा बुटवलमा हालै आयोजित सामुदायिक क्याम्पसको व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शैक्षिक व्यक्तित्वले सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएकोमा चिन्ता प्रकट गरेका छन् ।
कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका सचिव प्राध्यापक शङ्करप्रसाद भण्डारीले पछिल्लो समय सामुदायिक क्याम्पसमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले चिन्ता उत्पन्न भएको बताउनुभयो । उहाँले देशभरि रहेका ५०५ वटा सामुदायिक क्याम्पसमध्ये १७८ वटा सामुदायिक क्याम्पसमा विद्यार्थीको सङ्ख्या एक सयभन्दा कम भइसकेकाले अब विश्वविद्यालय अनुदान आयोगले दिने अनुदानमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था आइरहेको बताउनुभयो ।
उहाँले विश्वविद्यालयले दिने अनुदानको प्रभाव कस्तो परेको छ, त्यो अहिलेसम्म परीक्षण नगरिएको बताउँदै विश्वविद्यालय अनुदान आयोगले दिएको अनुदानले विद्यार्थी सङ्ख्या बढेको छ कि क्याम्पसको गुणस्तर बढेको/घटेको छ वा छैन भन्ने विषयमा अब अनुगमन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी सङ्ख्या घट्दै गएका क्याम्पसलाई एकअर्कामा मर्ज गर्नेतर्फ प्रक्रिया अघि बढाउने तयारी गरेको बताउँदै भण्डारीले त्यसका लागि मर्ज प्रक्रियालाई कसरी सहज बनाउने भन्ने विषयमा आगामी दिनमा समेत छलफल गर्ने जनाउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले क्याम्पसलाई दिने अनुदानको विषयमा परिवर्तन भएका नीति नियमबारे जानकारी दिने यसप्रकारका अभिमुखीकरण कार्यक्रमले क्याम्पसलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्रोहा बहुमुखी क्याम्पसका प्राध्यापक लोकनाथ अधिकारीले प्लस टु पास गरेपछि विद्यार्थी नेपालमा रोजगारीको अभाव देखाउँदै पढ्ने बहानामा विदेश जान थालेपछि सामुदायिक क्याम्पसमा विद्यार्थीको सङ्ख्या घटेको बताउनुभयो ।
उहाँले सामुदायिकसँगै निजी क्षेत्रका क्याम्पसले समेत डिप्लोमा अध्ययन गर्ने विद्यार्थी पाउन समस्या परेको बताउँदै पहिलेको तुलनामा करिब ५० प्रतिशत विद्यार्थी घटेको बताउनुभयो । डिप्लोमा अध्ययन गराउने क्याम्पसको पाठ्यक्रम सिपमूलकभन्दा पनि सैद्धान्तिक बढी भएकाले विद्यार्थीको रोजाइ प्लस टु अध्ययन सकेपछि विदेश हुने गरेकाले समस्या भएको उहाँको भनाइ छ ।
विश्वविद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विकासमा ठुलो सहयोग गर्दै आएको छ । अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका २६ क्याम्पसका प्रतिनिधिको सहभागिता थियो ।