लमजुङको सुन्दरबजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो । उत्तरमा सेतो फेटा गुथेर बसेको लमजुङ हिमाल, नागबेली मस्र्याङ्दी नदी, हरियाली फाँट र वनजङ्गलले नगरपालिकालाई सुन्दर बनाएको छ । पूर्वमा राइनास, उत्तरमा बेँसीसहर, पश्चिममा मध्यनेपाल र दक्षिणमा तनहुँको भानु नगरपालिकाले सुन्दरबजार घेरिएको छ । गुरुङको बाहुल्य रहेको यो नगर ब्राह्मण, क्षेत्री, नेवार, मगर, दलित र अल्पसङ्ख्यक दुरा समुदायको बसोबास छ । लमजुङको भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा, कुन्छा, चन्द्रेश्वर, दुराडाँडा, सेनी र सिन्दुरे गाविस मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । साबिक सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेका थिए । २०७३ सालमा चार गाविस मिलाएर सुन्दरबजार नगरपालिका घोषणा भएको हो । सुन्दरबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको हो । नगरप्रमुख कोइरालासँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
सुन्दरबजारलाई नाम जस्तै बनाउन काम भयो ?
नगरपालिकालाई सुन्दर बनाउन शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारका काम थालनी गरेका छौँ । पालिकाभित्रका सडकलाई कालोपत्रे गर्न लागत साझेदारीको अवधारणा अनुसार काम सुरु भएको छ । हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्रे र ढलान भइसकेको छ । प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गर्नका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारको सहयोगमा काम भइरहेको छ । अन्य सडकको स्तरोन्नति र ढलान गरिएको छ ।
ढुङ्गा, गिट्टी, बालुवा व्यवस्थापनबाट राजस्व सङ्कलन भएको छ । पर्यटकीय स्थल, सिन्दुरेढुङ्गा, बजरकोट, गहते जस्ता क्षेत्रमा होमस्टेको सम्भाव्यता अध्ययन गरी व्यवस्थित बनाउने, गहतेलाई मौरी पकेट क्षेत्रका रूपमा विकास गर्ने, पालिकाभित्र रहेका ऐतिहासिक स्थल संरक्षण गर्ने काम भएको छ ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा परिवर्तन भएको छ ?
शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षकलाई तालिम, परामर्श दिने र अनुगमन गरिराखेका छौँ । स्थानीय पाठ्यक्रम निर्माण, दरबन्दी मिलान सुरु भएको छ । क्याम्पसलाई अनुदान सहयोग भएको छ । कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कृषकसँग जोडेका छौँ । सरकारी स्वास्थ्य संस्थामा आवश्यक सामग्री र स्वाथ्यकर्मी पूर्ति गरेका छौँ । नमुना सामुदायिक अस्पताललाई स्तरवृद्धि गर्न एचडिसिएससँग सम्झौता गरी विशेषज्ञसहितको उच्चस्तरीय सेवा दिने अस्पतालका रूपमा स्थापित गर्न सहयोग भएको छ । बिरामीले काठमाडौँ, चितवन र पोखराका ठुला सहरमा सेवा लिन जानु नपर्ने भएको छ ।
सर्वसाधारणले प्रत्यक्ष राहत पाउने काम के के भयो ?
जन्मदेखि मृत्युसम्म स्थानीय सरकार भन्ने उद्देश्यका साथ सुत्केरी हुन अस्पताल लैजाँदा लाग्ने एम्बुलेन्स खर्च उपलब्ध गराएका छौँ । छोरी जन्मेमा बैङ्क खाता खोलेर दुई हजार जम्मा गर्ने कार्यक्रम सुरु भएको छ । शवलाई घाट लैजाँदा नगरपालिकाको बस प्रयोग गरी सहज बनाइएको छ । विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । उपमेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत मौरीको घार वितरण, कुखुरापालन र अन्य व्यवसाय गर्न ६० प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । नगरपालिकाको पशु सेवा शाखा अन्तर्गत दुग्ध उत्पादन गर्न चाहने कृषकलाई भैँसी वा गाई किन्न ६० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । कृषकको जीवनस्तर सुधारका लागि एक गैरसरकारी संस्थाको सहकार्यमा दुई सयभन्दा बढी स्थायी टनेल निःशुल्क वितरण गरिएको छ । गोठ सुधारका लागि अनुदान उपलब्ध गराइएको छ ।
फोहोरको व्यवस्थापन कसरी गर्नुभएको छ ?
फोहोर व्यवस्थापन यहाँको प्रमुख समस्या थियो । म निर्वाचित भइसकेपछि पैसा तिरेर फोहोर उठाउने गरिएकोमा त्यसलाई ‘कोटेसन’ प्रक्रियामा लगी फोहोर उठाएबापत नगरपालिकालाई १० लाखभन्दा बढी राजस्व प्राप्त हुने बनाइएको छ । फोहोरबाट मल बनाउन मेसिन खरिद गरी अब जडान गर्न मात्र बाँकी छ ।
भावी योजना पनि छन् ?
नगरपालिकामा बहुउद्देश्यीय सिटी हल, व्यवस्थित बसपार्क, सुन्दरबजारमा विवादित बनेको मध्यपहाडी लोकमार्ग निर्माण गर्दै छौँ । ग्रामीण भेगका विद्यालयमा विद्यार्थी कम छन् । सहरी क्षेत्रमा विद्यार्थी बढी शिक्षक कम भएकाले दरबन्दी मिलानलाई निरन्तरता दिनु छ । असहाय र विपन्नको जीवनस्तर सुधारका लागि सामूहिक खेती, व्यावसायिक कृषि, एक घर एक टनेल, व्यावसायिक कुखुरापालन, मौरीपालन कार्यक्रम प्रभावकारी बनाउनु छ ।