हरिप्रसाद कोइराला
उर्लाबारी, पुस ११ गते । सञ्चार क्लव नेपाल उर्लाबारीले २१ ओैं साधारणसभाको अवसर पारेर चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
क्लवले दाताराम–पद्मावती पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइराला, लिला–गोमा पत्रकारिता पुरस्कारबाट उर्लाबारी न्युजका घनश्याम भण्डारी, दुर्गाराज पोमु स्मृति पत्रकारिता पुरस्कारबाट पूर्वी कमाण्ड डटकमका सरोज बस्नेत र सञ्चार क्लब पत्रकारिता सम्मान पुरस्कारबाट अलकापुरी साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही १०—१० हजार रुपियाँ नगद रहेको छ ।
दाताराम पद्मावती पत्रकारिता पुरस्कार पत्रकार दुर्गाप्रसाद खतिवडाले आफ्ना बुबा–आमाको सम्झनामा गठित अक्षयकोषबाट, लिला गोमा पत्रकारिता पुरस्कार स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी आमा र पत्नीको नाममा गठन गर्नु भएको अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिदैआएको छ ।
क्लबले यस वर्षदेखि सञ्चार क्लव पत्रकारिता सम्मान पुरस्कार र दुर्गाराज पोमु स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो । क्लवले यसै वर्ष सञ्चार क्लव पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो । यस्तै, अरनिको अस्पतालका सञ्चालक लोलिम पोमुले आफ्ना बुबाको स्मृतिमा यसवर्ष दुर्गाराज पोमु स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोष गठन गरी क्लवलाई हस्तान्तरण गर्नुभयो ।
मिक्लाजुङ गाउँ पालिकाको कुइनेटारमा भएको साधारणसभामा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले चारै जना पत्रकारलाई पुरस्कार प्रदान गर्नुभयो ।
क्लवका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मिक्लाजुङ गाउँपालिका २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ, पत्रकार अक्षयकोषका निर्माता जयधर्म आचार्य र लोलिम पोमु, उर्लाबारी रेडक्रसका सभापति भानुभक्त शर्मा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेरेङ र उद्योगी सचिन शाक्यले बोल्नुभएको थियो ।