• ११ पुस २०८१, बिहिबार

‘देशलाई आत्मनिर्भर बनाउन अगाडि बढ्नुहोस्’

blog

भरतपुर समाचारदाता

चितवन, मङ्सिर २८ गते  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले वर्ग र वर्गहितको पहिचान गरी देशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ अगाडि बढ्न उद्योगी व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले वर्गहितमा केन्द्रित रहेर राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषिलाई व्यावसायिकीकरण र औद्योगिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । कृषि, पर्यटन र जलविद्युत् नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले कृषिमा आधारित उद्योगको बढोत्तरी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरकारले कृषिमा आधारित उद्योग स्थापना गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

कृषिलगायत आफ्नै कच्चा पदार्थ प्रयोग गरी स्थापना गरिने उद्योग स्थायी प्रकृतिको हुने र उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमै रोजगारी सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रित गर्न महासङ्घलाई उहाँको सुझाव थियो । पूर्वप्रधानमन्त्री प्रचण्डले आपूm प्रधानमन्त्री भएका बखत आफू अनुकूलको आर्थिक व्रिmयाकलाप गर्न चाहनेविरुद्ध १८ महिना सङ्घर्ष गर्नु परेको स्मरण गर्दै उनीहरूले आफूलाई ‘डिक्टेट’ गर्न खोजेको तर आफूले अडान नछाडेको पनि खुलासा गर्नुभयो । 

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा देशको अवस्था ज्यादै दयनीय रहेको, आर्थिक क्रियाकलापलाई गति दिई अर्थतन्त्रलाई लयमा फर्काउने प्रक्रिया सुरु भएको र सुशासनका पक्षमा केही काम पनि सुरु भएको स्मरण गर्दै आफ्ना पनि केही कमीकमजोरी भएको स्वीकार गर्नुभयो ।  

पूर्वप्रधानमन्त्री दाहालले अहिले बिस्तारै आफूलाई माओवादी भन्न गर्व गर्न सक्ने स्थिति आएको दाबी गर्नुभयो । कार्यक्रम महासङ्घका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा देशभरबाट चार सय प्रतिनिधिको प्रतिनिधित्व रहेको बताइएको छ ।

चितवनको भरतपुरमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।