• १० पुस २०८१, बुधबार

नबिलले दस प्रतिशत लाभांश दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । नबिल बैङ्कले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । बिहीबार सम्पन्न उक्त बैङ्कको ४० औँ वार्षिक साधारण सभाले नगद लाभांश दिने पारित गरेको हो । बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैङ्कले छ अर्ब २० करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

गत आवको तुलनामा बैङ्कको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपियाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब ७९ करोड रुपियाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई तीन खर्ब ८५ अर्ब ७२ करोड रुपियाँ पुगेको छ । समग्रमा आव २०८०/८१ मा बैङ्कको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५७ अर्ब दुई करोड पुगेको हो  ।