• १० पुस २०८१, बुधबार

ग्लोबल आइएमईले ५.५ प्रतिशत बोनस सेयर दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २८ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । उक्त बैङ्कको १८ औँ वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बिहीबार सम्पन्न साधारण सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरणपछि कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

बैङ्कले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपियाँ सञ्चालन मुनाफा र छ अर्ब १३ करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपियाँ पुग्ने बैङ्कले जनाएको छ ।