गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बुधबार आयोजना गरेको सरोकारवाला तथा रोजगारदातासँगको अन्तर्क्रियामा उहाँले रोजगारीलाई सिपसँग जोड्न सक्दा उत्पादन वृद्धि हुने उल्लेख गर्दै सरकारले आगामी वर्षलाई रोजगार दशकका रूपमा घोषणा गर्ने बताउनुभयो ।
उहाँले रोजगारीको प्रशस्त सम्भावना स्वदेशमै रहेको बताउँदै बजारको माग र आवश्यकताका आधारमा पाठ्यक्रम तर्जुमा गरिने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले श्रम बजारको आवश्यकता अनुरूप तालिम प्रदान गरी विदेशी श्रमिकलाई विस्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारोन्मुख तालिमको आवश्यकता रहेको र श्रम बजारको माग अनुसार पाठ्यक्रम तथा तालिम परिमार्जन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले श्रम शक्तिलाई दक्ष जनशक्तिमा रूपान्तरण नगर्दा उत्पादकत्व बढ्न नसक्ने बताउनुभयो ।
श्रम विज्ञ डा. रामहरि लामिछानेले अधिकांश पुरानै विषयमा सिपमूलक तालिम सञ्चालन गर्ने गरिएको बताउँदै बजारलाई आवश्यक पर्ने तालिममा सुधार गर्नुपर्ने सुझाव दिनुभयो । सो कार्यक्रममा श्रममन्त्री भण्डारीले रोजगारीका लागि सिप पुस्तिका विमोचन गर्नुभएको थियो ।