• ७ पुस २०८१, आइतबार

हिउँको आँगन, पिठिउँमा शिशु

blog

शिक्षिका जुना रावत आफ्नी शिशुलाई पिठिउँमा बोकेर पढाउनु हुँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, मङ्सिर २७ गते । बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ । यहाँका हिमाली क्षेत्रका अधिकांश ठाउँमा बाक्लो हिमपात भएपछि अहिले निकै चिसो बढेको छ । चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । 

हिउँको चिसोले स्थानीयवासीलाई घरबाहिर आउजाउ गर्नसमेत कठिन भएको बेला बुढीनन्दा नगरपालिकाका–९ स्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयकी शिक्षिका जुना रावत भने पाँचमहिने आफ्नो शिशुलाई पिठ्यँुमा बोकेर बालबालिकालाई पढाइरहनुभएको छ ।

अधिकांश महिलालाई चिसोका कारण घरबाहिर जान कठिन छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो, उसैमा बाहिर बाक्लो हिमपात भएका बेलामा शिक्षिका रावतले भने पाँच महिनाकी छोरीलाई पिठिउँमा राखेर बालबालिकालाई पढाइरहनुभएको छ । 

यहाँ प्रायः जनजाति भोटे समुदायको बसोबास छ । उनीहरूको पेसा भेडापालन हो । उनीहरू जाडोका बेला भेडासँगै औल जाने र गर्मीमा लेक सर्ने गर्दछन् । बालबालिकाहरू पनि बाआमासँगै औल र लेक जाने भएकाले हिउँदको चिसोमा यहाँका अधिकांश विद्यालय खाली हुन्थे, जसले गर्दा भोटे समुदायका बालबालिका लामो समय पढाइबाट वञ्चित थिए । 

यही समस्यालाई ध्यान दिँदै पछिल्लो समय जति चिसो भए पनि बालबालिकालाई विद्यालयमा नै राखेर पढाउने गरिएको छ । त्यसैले शिक्षिका रावत आफ्नी पाँच/छ महिनाकी शिशुलाई पिठिउँमा बोकेर पढाउनुहुन्छ । अहिले यो विद्यालय शनिबार र बिदाको दिनबाहेक हिउँदको चिसो होस् या बर्खाको झरी सबै दिन सञ्चालन हुन्छ । 

“चिसोको निहुँमा यी बालबालिका पढाइबाट वञ्चित हुँदै आएका थिए । अहिले हामीले चिसोमा न्यानो लुगा लगाएर वा आगो बालेर पनि पढाउने गर्छौं । मेरा लागि विद्यालय आउने बालबालिका र मेरी छोरी समान हुन्,” शिक्षिका रावतले भन्नुभयो, “मैले मेरी सानी छोरीलाई चिसो भयो भन्दै घरमा बसे यी बालबालिकाको पढाइ पनि रोकिन्छ । त्यसैले बच्चीलाई लिएर विद्यालय आउने गरेकी छु ।”

अभिभावकसँगै औल र लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका बालबालिका अहिले विद्यालयमै बसेर पढ्न थालेपछि उनीहरूको पढाइमा पनि राम्रो सुधार आएको शिक्षिका रावतले बताउनुभयो ।

सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयमा जनजाति, दलित, हलियाका टुहुरा, अनाथ बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरिएको प्रधानाध्यापक तुलाबहादुर रावतले जानकारी दिनुभयो ।

हिमपातका कारण चिसो बढे पनि आफूहरूले पढ्न नछोडेको कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताउनुभयो । चिसो भएपछि आगो बालेर पढ्ने गरेको बताउँदै रावतले भन्नुभयो, “हामी सधैँ यसै विद्यालयमा बस्ने र खाने गर्छौं । हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकाले अहिले आगो बालेर पढ्छौँ ।” 

यो हिउँदमा पनि ६६ जना बालबालिका विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । जसमा दस जना अनाथ, एक जना जनजाति, १५ जना द्वन्द्वपीडित दलित र ४० जना भोटे समुदायका छन् । बालबालिकाहरू हिउँद, बर्खा नै विद्यालयमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक रावतले बताउनुभयो ।