• १० पुस २०८१, बुधबार

गाउँबस्तीमा बाघको आतङ्क

blog

नवलपरासी समाचारदाता

बुलिङटार, मङ्सिर २६ गते । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका क्षेत्रमा विगत २५ दिनदेखि बाघले आतङ्क मच्चाइरहेको छ । बाघले दुई सयभन्दा बढी गाईगोरु र बाख्रा मारेको घटनाले यहाँका बस्तीमा निकै आतङ्क मच्चिएको छ ।  स्थानीयले बाघको आतङ्कबाट जनजीवन सहज बनाइदिन प्रहरीसमक्ष आग्रह पनि गरेका छन् । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले भन्नुभयो, “बाघले गर्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् । घरबाट बाहिर निस्कने वातावरण छैन । अहिले बाटोघाटो, वनजङ्गलमा हिँड्नसमेत प्रतिबन्ध लगाइएको छ ।” गैँडाकोट नगरपालिका–३ र १८ क्षेत्रबाट पसेको पाटेबाघले आक्रमण गरेर ९२ वटा गाईगोरु र बाख्रा मारेको वडा नं. ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटले सो पाटे बाघले यो अवधिमा स्थानीय बासिन्दाको दुई सयभन्दा बढी पशुवस्तु खाएको पुष्टि गरेको छ । 

बुलिङटार गाउँपालिका–१ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी मगरका अनुसार यो पटक जङ्गलबाट निस्केको बाघले स्थानीय बासिन्दामा निकै त्रास बढाएको छ । मान्छेलाई आक्रमण नगरे पनि पशुवस्तु धमाधम खाँदा मानवबस्ती आतङ्कित भएको हो । स्थानीय शिक्षक समर मगरका अनुसार विशेष गरी बालबालिकालाई पनि त्रास बढाएको छ । विद्यालय आउजाउ गर्न पनि गाह्रो भएको उहाँले बताउनुभयो ।  बाघको आक्रमणलाई तत्काल रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।