• १० पुस २०८१, बुधबार

स्वास्थ्यमा जाडोजन्य जोखिम

blog

उमेरसँगै मात्र नभई मौसम परिवर्तनसँगै मानिसको जीवनशैलीमा परिवर्तन आउँछ । औँला सुन्निने मौसमका रूपमा परिचित जाडो मौसममा प्राय प्रयोग हुने शब्द चिलब्लेन्स हो । पीडादायक भए पनि चिकित्साका हिसाबले सामान्य समस्या मानिने चिलब्लेन्सले हातखुट्टाका औँलामा मात्र नभई नाक, कानको लोती, गाला, तिघ्रा, नितम्ब, नली हाड आदिमा असर गर्छ । पुरुषको दाजोमा महिला बढी मारमा पर्ने चिलब्लेन्सले बुढापाका र बालबालिकालाई सताउँछ ।

ज्येष्ठ नागरिकका समस्या

ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जाडो मौसममा बढी स्वास्थ्य समस्या देखिन्छ । चिसोसँगै वातावरण प्रदूषण र बिहानै चिसो पानीले नुहाउने बानीले निमोनिया, दम, उच्च रक्तचापका साथै अन्य दीर्घरोग बढ्ने गर्छ, जोर्नीसम्बन्धी समस्याले पनि धेरै दुःख दिन्छ तथा कतिपयको कठ्याङ्ग्रिएर मृत्युसमेत हुने गर्छ । जाडोमा पानी कम पिउने, रगत बाक्लो भई रक्तचाप बढ्ने गर्छ र हृदयघात, मस्तिष्क घातको सम्भावना रहन्छ । जाडोमा जोर्नी धेरै सुन्निने, दुख्ने भई निकै कष्टकर हुन्छ । 

शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा पनि हाडजोर्नीसम्बन्धी समस्या पनि देखा पर्छ, जसमा ५० वर्षमाथिका तथा वृद्धवृद्धामा हाड जोर्नी दुख्ने गर्छ । हाड खिइँदै जाँदा, एकै ठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमयुक्त खानाको कमी हुँदा पनि जोर्नी दुखाइ बढ्छ । लामो समयसम्म एकै ठाउँमा बस्ने बानी, निष्क्रिय जीवनशैली, घुँडा खुम्चाएर एकैस्थानमा लामो समयसम्म बस्ने, हाड कमजोर, उमेर, चोटपटक, सङ्क्रमण, चिसा पानीले नुहाउने बानी, अनावश्यक रूपमा तौल बढ्नुले पनि जोर्नी दुख्ने गर्छ । बिहानको घाम नताप्ने, झोलिलो पदार्थ सेवन नगर्ने, नियमित शारीरिक व्यायाम नगर्ने, धूमपान र मद्यपान गर्ने, कोक, पेप्सी जस्ता सफ्टड्रिङ्क, आटामा आधारित खानाले पनि दुखाइ बढाउँछ । 

बालबालिकामा रुघाखोकी र निमोनिया

सरकारले सन् २०१५ देखि राष्ट्रिय खोप कार्यक्रममा रहेको पिसिभी १० अर्थात् न्युमोकोकल खोप बालबालिकामा प्रभावकारी देखिएको छ । सन् २०१४ मार्च २० देखि २०१९ डिसेम्बर ३१ सम्म पाटन अस्पतालमा भर्ना भएका दुईदेखि १४ वर्षसम्मका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाल अनुसन्धान एकाइ, अक्सफोड विश्वविद्यालय र गाभी भ्याक्सिन एलायन्सको सहकार्यमा छ वर्ष लगाएर गरिएको अध्ययनमा खोपको प्रयोगले २६ प्रतिशत निमोनिया, मेनिन्जाइटिस, सेप्सिस आदि दुई वर्षमुनिका बालबालिकामा घटेको देखिएको छ । बालबालिकाको नाक पछाडिको भागमा पाइन न्युमोकोकस ब्याक्टेरियाका प्रजातिमध्ये पिसिभी १० मा समावेश भएका प्रजाति दुई वर्षमुनिका बालबालिकामा ७५ प्रतिशत र दुईदेखि पाँच वर्षसम्मकामा ४१ प्रतिशतले घटेको छ । निमोनिया भएकामा ८२ प्रतिशतले घटेको छ । 

नेपाल सरकारले सन् २०१५ मा १० वटा प्रजाति समेटिएको न्युमोकोकल खोप पिसिभी १० को दुई वटा प्राइमरी डोज छ हप्ता र १० हप्ता र एक बुस्टर डोज नौ महिनामा लगाइन्छ । जुन तालिका नेपालमा मात्र लागु छ । खोजले अन्तराल आठ हप्तालाई चार हप्ता गर्दा पनि त्यत्तिकै प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले निर्देशिकामा उल्लेख गर्न बाध्य भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक, विभिन्न अङ्गका दीर्घरोगी, प्रतिरोधी क्षमता कम भएका एचआइभी, एड्सपीडित, क्यान्सरको उपचाररत, स्टेरोइड जस्ता औषधी खाइरहेका, कुनै पनि स्टेजका गर्भवती महिला, छ महिनादेखि पाँच वर्षसम्मका बालबालिका र स्वास्थ्यकर्मीले इन्फलुयन्जाविरुद्धको खोप अनिवार्य लिनु पर्छ ।

आगो ताप्दा प्रदूषण

जाडो बढेसँगै जताततै आगो तापिरहेको देखिन्छ । आगो ताप्न के टायर, प्लास्टिक के सडक किनारमा थुपारिएका फोहोर सबै बालेर आगो तापेको देखिन्छ । जसले तत्काल त न्यानो हुन्छ तर उत्पन्न धुवाँले स्वास्थ्यमा तत्कालै तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर गर्छ । सरकारी मापदण्ड ४० रहेकोमा कहिलेकाहीँ दुई सयभन्दा बढी भई सास फेर्न सकस भएका विगत पनि छन् ।

प्रदूषणमा गाडीको धुवाँ ३८ र आगोको धुवा १९ गरेर ५७ प्रतिशत हिस्सा धुवाँको छ । त्यस्तै सडक धुलोको २५, इटाभट्टाको ११ र अन्यबाट सात प्रतिशत हुन्छ । कचौरा आकारको काठमाडौँबाट धुँवा हतपत बाहिर जान पाउँदैन । त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बन मोनो, डाइअक्साइड, प्युरेन, डाइअक्सनले क्यान्सरसम्म गराउन सक्छन् । वायुप्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, कान घाँटी र श्वासप्रश्वासमा असर र दीर्घकालमा मुटु, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतामा ह्रास गराउँछ । 

घाम लागेपछि मर्निङ वाक 

 कचौरा आकारमा रहेको काठमाडौँ खाल्डोमा हावा चल्ने दिशा पूर्वपश्चिम मात्रै हो । प्रदूषित हावा बाहिर निकाल्न हुरी बतासकै गतिमा हावा चल्नु पर्छ । फोक्सो सफा गर्न भन्दै गरिने बिहानी हिँडाइमा प्रदूषित बन्छ । जाडोयाममा वायुप्रदूषण बढ्ने भएकाले मर्निङवाकले पनि हानि गरिरहेको छ । वायुप्रदूषणका कारण दम, ब्रोङकाइटिस, फोक्सो र मुटुसम्बन्धी रोगको उच्च सम्भावना रहन्छ । बिहानै खाली पेटमा निस्कँदा रक्तचाप र दमका बिरामीमा झनै समस्या हुन्छ ।

कठ्याङ्ग्रिने, हृदयाघात, रुघाखोकी आदिको समस्या हुन्छ । श्वास लिँदा धुलो, धुवाँका साना कण फोक्सोसम्म पुग्छन् । ठुला कण श्वासनलीमा अडकिन्छ । फोक्सोबाट रक्तसञ्चार हुँदै मुटु, मिर्गौला र छालामा समेत पुग्छन् ।

हुस्सुले बाटो नदेखिँदा बिहान सवारीसाधनसमेत स्पिड हुने भएकाले कतिपय अवस्थामा दुर्घटनासमेत हुन्छ । त्यसैमा बिहान सडक छेउ हेडफोनमा रमाउँदै मर्निङ वाक गर्दा दुर्घटना हुन्छ । 

जाडोमा हुन सक्छ हृदयाघात 

स्वेडिस रजिस्ट्रीको दुई लाख ७४ हजार ०२९ बिरामीको तथ्याङ्क अध्ययनमा हृदयाघातको जोखिम तापक्रम ६८ बाट ३२ डिग्री फरेनहाइट घट्दा १४ प्रतिशतले बढ्छ । अर्थात् हावाको तापक्रममा ७.४ डिग्री सेल्सियस वृद्धि हुनु भनेको २.८ प्रतिशत हृदयाघातको जोखिममा कमी आउनु हो । दमका दीर्घरोगी, पहिल्यै हृदयाघात र रक्तनलीमा अवरोध भएका, बाइपास सर्जरी गरेका या स्टेन्ट हालेका, मुटु कमजोर भएका, मुटुको चालमा गडबढी भएका जाडोमा जोखिम वर्गमा पर्छन् । त्यसै गरी फोक्सो, सिओपीडी, मिर्गौला, वृद्धावस्था भएका, अनियन्त्रित रक्तचाप, कोलेस्ट्रोल, धूमपान, निस्क्रिय जीवनशैली, ज्यादै मद्यपान, मस्तिष्काघात या पक्षाघात भएकाहरू पनि जाडोमा रगत जम्ने क्रम बढी, नसा खुम्चिएर साँघुरा भई रक्तचाप, मुटुको धड्कन बढ्ने, अनेकन हर्माेन सक्रिय भई नकारात्मक परिवर्तन ल्याई मुटुरोग तथा हृदयाघातको जोखिममा पर्छन् ।

स्ट्र«ोकको ८० प्रतिशत इस्केमिक र २० प्रतिशत हेमोरेजिक हुन्छ । मस्तिष्कघातको लक्षण देखिएको ढिलोमा साढे चार घण्टामा उपचार सुरु गरे ठुलो नोक्सानीबाट बच्न सकिन्छ । स्ट्रोकको लक्षण फास्ट एफ– फेस वा अनुहार बाङ्गिनु, ए–आर्म अर्थात् एक्कासि एउटा वा दुवै हातले काम गर्न छोड्नु, एस– स्पिच अर्थात् आवाज लर्बराउनु वा पूरै गुम्नु र टी–टाइम अर्थात् बिरामीलाई तुरुन्त उपयुक्त अस्पताल पुर्‍याउनुस् ।

रोकथाम

रुघाखोकी तथा निमोनियाको खोप अनिवार्य लिनु पर्छ । घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनु पर्छ । बिहानै चिसोमा हिँड्डुल कम वा बन्द गर्नु पर्छ । दीर्घरोगीले उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोल नियन्त्रणमा राख्नु पर्छ । स्वस्थ आहार र व्यायामले शरीरका अङ्गहरूलाई स्वस्थ राख्छ त्यही अनुसार अवलम्बन गर्न जरुरी छ । तयारी खानेकुरा, विलासी जीवनशैली, मानसिक तनावबाट मुक्त रहनु र ताजा फलफूल, हरिया सागसब्जी सेवन गर्नु पर्छ ।

छालामा चिसोको प्रभाव धेरै नपरोस भन्नाका लागि बढी तातोपानीले ननुहाउने, मनतातो पानीको मात्र प्रयोग गर्ने, नुहाइसकेपछि पूरै शरीरमा तेल वा मोस्चराइजिङ क्रिम अनिवार्य लगाउने, अनुहार सुक्खा हुने भएकाले फेसवासको प्रयोग नगरी पानीले मात्र मुख धुने, भित्र सुतीको कपडा लगाई उनी कपडा छालामा टासिने गरी नलगाउने गर्नु पर्छ । पानी बढी पिउने, पूरै शरीर ढाकिने गरी कपडा लगाउने, हिटर तथा आगो बाल्दा कोठामा हावा पास भएको, डिहाइड्रेसन र सुक्खापनाबाट बच्न एक मिटर पर बसेर ताप्नेमा ख्याल गर्नु पर्छ । १० सेमी टाढा राखेर हिटर ताप्ने, विद्युतीयभन्दा ग्यास हिटर कम अक्सिजन लिने, कम कार्बन मोनोअक्साइड निकाल्ने गर्छ । 

Author

डा. प्रकाश बुढाथोकी