• ११ पुस २०८१, बिहिबार

परराष्ट्रमन्त्री डा. देउवा र लक्जेम्बर्गका उपप्रधान एवं विदेशमन्त्रीबीच भेटवार्ता

blog

काठमाडौँ, मङ्सिर २६ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जेम्बर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जेम्बर्गको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो ।

लक्जेम्बर्ग सिटीस्थित उहाँको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा नेपाल लक्जेम्बर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो ।

त्यस अवसरमा उहाँहरुले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जेम्बर्ग बीचको आर्थिक सहकार्यका बारेमा  विचार आदानप्रदान गर्नुभएको थियो । साथै सो वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो ।

नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा. देउवाले सो भेटका क्रममा जानकारी गराउनुभएको थियो । 

उहाँहरुले द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री डा. देउवाले लक्जेम्बर्गलाई नेपालको विकास सहायता प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गर्नुभएको थियो । 

मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गर्नुभएको थियो । 

नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरुको सहयोगको अपेक्षा नेपालले गरिरहेको र त्यसमा लक्जेम्बर्गको पनि सहयोग र समर्थनको अपेक्षा गरिएको मन्त्री डा. देउवाले बताउनुभएको थियो । 

सो भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले नेपाल आन्तरिक रुपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि गराउनुभयो । साथै उहाँले नेपालले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद र मानवअधिकार आयोगको  सदस्यमा उम्मेदवारी दिन लागेकाले त्यसका लागि सहयोग गर्न लक्जेम्बर्गलाई आग्रह गर्नुभएको थियो । 

नेपाल र लक्जेम्बर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।