गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ सहकार्य फ्रेमवर्क अनुदानमै आधारित रहेको प्रस्ट पारेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्सिर १७ देखि २० गतेसम्म भएको बिआरआई सहकार्य फ्रेमवर्कबारे कुनै भ्रममा पर्न नहुने निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बिआरआईसम्बन्धी सहमतिका बारेमा कांग्रेस पदाधिकारी बैठकको निर्णय र दुई दलीय संयन्त्रको बैठकबाट साझा धारणा बनाइएको प्रस्ट पार्नुभयो । उहाँका अनुसार चीनबाट आएको प्रारम्भिक प्रस्ताव अनुरूप अनुदान सम्झौता भएको हो ।
उहाँले भन्नुभयो, “बिआरआई सहकार्य फ्रेमवर्क समझदारीमा हाम्रो राष्ट्रिय हित, आवश्यकता र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गरिएको छ तर बिआरआईमा ग्रान्ट फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने विषय सार्वजनिक रूपमा चर्चा भएको छ । त्यो एड फाइनान्सिङमा स्वाभाविक रूपमा ग्रान्ट (अनुदान) पर्छ ।”
उहाँले १० वटै परियोजना सम्झौता हुने र सम्झौता गर्दा अनुदानका आधारमा मात्रै गर्ने र चीन सरकार पनि अनुदान दिन तयार हुने बताउनुभयो । उहाँले अहिलेको परिस्थिति अनुदान मात्रै लिन सक्ने रहेको बताउनुभयो । साथै उहाँले सरकार–सरकारबाट लिने ऋणमा अनेकौँ सर्त हुने भएकाले देशलाई फाइदा नहुने कांग्रेस बैठकको निर्णय सुनाउनुभयो ।
लगानीको बाटो खुला
कांग्रेसले चिनियाँ लगानीका लागि बाटो खुला रहेको बताएको छ । प्रवक्ता महतले चिनियाँ लगानी आउँदा रोजगारी बढ्ने र लगानीकर्तालाई उत्पादन र सेवाबाट प्रतिफल प्राप्त हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यस्तो लगानीलाई प्रोत्साहन दिने निष्कर्ष छ । प्रधानमन्त्रीले अनुदान लिने, ऋण नलिने भन्नुभएको छ । नेपालले ऋण लिँदैन, चीन सरकारले पनि यो कुरा बुझेको छ । चीनले यसअघिका अनुदान घोषणा पनि कार्यान्वयन गर्ने कांग्रेसको विश्वास हो ।”
प्रदेश सदस्यमा थापा
कांग्रेस बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गर्ने सभापति देउवाको निर्णय अनुमोदन गरेको छ । त्यसै गरी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा निर्वाचन आयोगको निर्देशनबमोजिम स्याङ्जाकी सुनिता थापालाई मनोनयन गर्ने निर्णय भएको छ । प्रवक्ता महतले भ्रातृ सङ्गठनको अधिवेशन चैतभित्र गर्न निर्देशन गरिसकेको सन्दर्भमा नेपाल तरुण दल र नेपाल किसान सङ्घले काम अघि बढाएको र विधान परिमार्जन गरी पारित गर्ने निर्णय गरेको बताउनुभयो ।
उपनिर्वाचन सन्तोषजनक
कांग्रेस बैठकले मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । प्रवक्ता महतले परिणामतः कांग्रेस पहिलो पार्टीकै रूपमा स्थापित भएको र महत्वपूर्ण ठाउँमा जितेको बताउनुभयो ।
उहाँले पार्टीभित्र उत्पन्न असन्तुष्टिका सन्दर्भमा बैठकमै कुरा राख्न नेताहरूलाई आग्रह गरिएको बताउनुभयो ।