शिवा तामाङ
काठमाडौँ, मङ्सिर २५ गते । सङ्घीय राजधानी काठमाडौँमा १५ सिट रहेको माइक्रोबसमा चालकपछि उल्टो फल्याके सिट राखेर १९ जना, दुई जनाको सिटमा तीन र चार जनाकोमा पाँच जना गरी २२ जना यात्रु बसाल्ने अनि दाउरा ठड्याए झैँ मिलाई क्षमताभन्दा दोब्बर यात्रु बोकेर कुदाउने गरिन्छ । यात्रुको सुविधा होइन, भाडा असुलीमा मात्र चासो दिने चालक सहचालकहरूको बोली व्यवहारमा सभ्यता र शिष्टता महसुस गर्नै सकिन्न । सार्वजनिक यातायात सञ्चालनमा नियम, सभ्यता र शिष्टाचारको पालना गराउन यातायात सञ्चालक एवं नियामक निकायहरूको पनि चासो नदेखिने गुनासो सार्वसाधारणको छ ।
सार्वजनिक बस सेवा आवातजावतका लागि सस्तो परे पनि यात्रा निक्कै सास्तीपूर्ण छ । बिहान कार्यालय जाने र बेलुका फर्किने समय यात्रुले हैरानी खेपेर यात्रा गर्नुपर्ने बाध्यता छ भने बस चालकबिचको होडबाजीले गर्दा बेगले कुदाउने, क्षमताभन्दा बढी यात्रु कोचिँदा सास फेर्न मुस्किल पर्ने अवस्था भोग्नु पर्छ । यसमाथि चर्को सङ्गीतका कारण मोबाइल फोनमा कुरा गर्नुपरे केही बुझिँदैन ।
राजधानीका सडकमा गुड्ने जुनसुकै रुटका सार्वजनिक बसका यात्रुले केही प्रतिकार गरिहाल्यो भने बसबाट तुरुन्त झर्ने, कारमा जाने भनेर चालक र सहचालकले धम्क्याउनु सामान्य भएको छ ।
बसले यात्रु खोसाखोस गर्ने, आफूभन्दा अगाडिका बसलाई खेद्ने र ट्राफिक प्रहरीले गर्ने जरिबानाको रिस पनि यात्रुलाई नै खन्याउने समस्याले गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि त सार्वजनिक बस सेवा झन् कष्टकर छ ।
अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठ करिब २० वर्षदेखि सार्वजनिक यातायातमा चढ्नु भएको छैन । श्रेष्ठलाई बस चढ्नै नपरेर भने होइन, शारीरिक अपाङ्गता भएका व्यक्ति उहाँ ह्विलचियरमा बस्नुपर्ने बाध्यता देखेर बस रोक्ने इसारा गर्दा पनि सार्वजनिक बसका चालकले रोक्दैनन् ।
सिन्धुपाल्चोक बाह्रबिसेका श्रेष्ठले भन्नुभयो, “गाउँबाट काठमाडौँ आउँदा, जाँदा र स्थानीय बजारतिरको यात्रामा स्थानीयले चिनेर दाइ भनेर सम्मानसहित चढाउँथे, ह्विलचियर पट्याएर राख्न पनि सघाउँथे तर विसं २०६१ मा काठमाडाँै आएदेखि मलाई ठुलासाना कुनै पनि बसले रोकेर चढाउन इन्कार गर्छन्, ट्याक्सीलाई भाडा तिरेर हिँड्नुपर्ने बाध्यतामा छु ।”
उहाँले थप्नुभयो, “सहरमा त सुविधा हुन्छ होला भन्ने लागेको थियो तर सहर अपाङ्गतामैत्री नभएको नमिठो अनुभव गरेँ ।” आफूले भोगेका भौतिक र मानसिक अवरोध अन्य अपाङ्गता भएका व्यक्तिले भोग्न नपरोस् भन्ने लक्ष्यले अपाङ्गता अधिकार प्राप्तिका लागि राजधानीमा सङ्घर्ष गर्न आएदेखि श्रेष्ठले यातायातका लागि निक्कै पैसा खर्च गर्नुपरेको छ ।
“यो समस्या मेरो मात्र होइन, सहायक सामग्री, सहयोगी नभएर घरभित्रै बस्नुपर्ने बाध्यतामा थुप्रै अपाङ्गता भएका व्यक्ति छन् तर म जस्तै घरबाहिर हिँडडुल गर्ने थुप्रै अपाङ्गता भएकाले यातायातको दुःख झेलिरहेका छन्,” उहाँले भन्नुभयो ।
श्रेष्ठ विस २०७१ को अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिको दिवस डिसेम्बर ३ को अवसर पारेर रत्नपार्क, महाराजगन्ज, कोटेश्वरको तीनकुने, लगनखेललगायतका बसस्टेसनमा दृष्टिविहीन, शारीरिक अपाङ्गता, भकभकेलगायतका समस्या भएका व्यक्ति भेला पारेर सार्वजनिक बस चढ्ने कोसिस गर्नुभयो तर धेरै बसले ठाउँ छैन, तपाईंहरूलाई चढाउन सकिँदैन भने । कोही, कोही चालक र सहचालकले भने सहयोग गर्दै बस चढाए । उहाँले त्यो दिनभर बस सेवाको उपभोग गराउन चालक, सहचालकहरूलाई सम्झाइबुझाइ गर्नुभयो । “केही दिनसम्म त अपाङ्गता भएकाले सेवा पाए तर सबैलाई बुझाउन सकिएन, फेरि हामीले बस चढ्न पाएनौँ आजसम्म पनि त्यही अवस्था रहेको छ,” उहाँ भन्नुहुन्छ ।
पत्रकार शर्मिला विश्वकर्माले पनि सार्वजनिक बस, माइक्रोमा भोग्नुपरेको दुव्र्यवहार खप्न नसकेरै चारपाङ्ग्रे स्कुटर चढ्न बाध्य हुनुपरेको बताउनुभयो । शारीरिक अपाङ्गता भएका विश्वकर्माको सानैमा आगोले जलेर गोडाको औँलाहरूमा क्षति पुगेको छ, रत्नराज्य कलेजमा पढ्न जाँदा माइक्रोमा अपाङ्गता परिचयपत्र देखाउँदा तपाईं कसरी अपाङ्गता भएको व्यक्ति हुन्छ भनेर बसका सहचालकले परिचयपत्र नै च्यातेर सबैका अगाडि दुव्र्यवहार गरे । उचाइ कम हुँदा बस चढेर उभिन परे माथिको डन्डी नै नभेट्ने, जुत्ता लगाएपछि औँलाको समस्या देखिँदैन, बसको अपाङ्गता आरक्षण सिट पनि नछाड्ने समस्याले बस चढ्नै डर लाग्ने अवस्था रहेको अनुभव उहाँले सुनाउनुभयो ।
पत्रकार विश्वकर्माले भन्नुभयो, “हात, गोडा, आँखाको समस्या त टाढाबाट देखिन्छ, गाडी नै रोक्दैनन्, मेरो जस्तो लुकेको अपाङ्गताको त कसैलाई विश्वास नै हुन्न, यस्ता कारणले समस्या भोग्नुपर्दा चारपाङ्ग्रे स्कुटर पैसा सापटी गरेर भए पनि किन्न बाध्य भएँ ।”
दृष्टिविहीन शिल्पा ढुङ्गेल र होचा/पुड्का सुन्दरी मिश्रले भने सार्वजनिक यातायातमा चढ्न/झर्न गाह्रो भए पनि सार्वजनिक यातायातमै यात्रा गरिरहेको र आफूहरूलाई अपाङ्गता आरक्षण सिटमै बस्न पनि दिने गरेको अनुभव सुनाउनुभयो ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ (प्रथम संशोधन २०७५), नियमावली २०७७, अपाङ्गता राष्ट्रिय नीति २०८०, मन्त्रीपरिषद्बाट २०६९/११/६ मा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ स्वीकृत भई कार्यान्वयनको चरणमा छ ।
अपाङ्गता भएका महिलाहरूको महासङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गतासम्बन्धी सबै नीति, कानुनले अपाङ्गतामैत्री वातावरण बनाउन, राज्य र नागरिक सबैलाई जिम्मेवार बनाएका छन् तर व्यवहारमा त्यो कुरा लागु नहुँदा अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातको सुविधालगायत थुप्रै अवरोधको सामना गर्नुपरेको बताउनुभयो ।
विगत पाँच वर्षदेखि स्वावलम्बन जीवन पद्धति केन्द्रको पहलमा ललितपुर महानगरले भने अपाङ्गतामैत्री माइक्रोभ्यान चालकसहित प्रदान गरेको छ । केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले उक्त भ्यानको मद्दतले ललितपुर महानगरका अपाङ्गता भएका व्यक्तिका लागि निक्कै सहयोग पुगेको र सो भ्यानले आवश्यक पर्दा अन्य अपाङ्गता भएका व्यक्तिका लागि पनि निःशुल्क सेवा दिँदै आएको श्रेष्ठको भनाइ छ । अन्य स्थानीय तहले पनि त्यस्तो सुविधा दिनुपर्ने अपाङ्गता अभियानकर्मीहरूको माग छ ।
यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले अपाङ्गता भएका व्यक्तिप्रति सम्मानजनक व्यवहार गर्नु पर्छ भन्ने चेतना भए पनि सार्वजनिक यातायात चलाउने सडक नै अपाङ्गतामैत्री नभएकाले उहाँहरूलाई सार्वजनिक बसले सेवा दिन अलि अप्ठ्यारो परेको बताउनुभयो ।
अध्यक्ष सिटौलाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक बसले आरक्षण सिटको व्यवस्था नै गरेको तर राज्यले नीति बनाएर अपाङ्गता भएका व्यक्तिलाई बस चढाउने, ओराल्ने निश्चित ठाउँको व्यवस्था गरे कुनै पनि सार्वजनिक बसले अपाङ्गता भएका व्यक्तिलाई बस चढाउन इन्कार नगर्ने बताउनुहुन्छ ।