• ९ वैशाख २०८२, मङ्गलबार

महोत्सवभित्र निषेधित प्लाष्टिक प्रयोग

blog

महोत्सवमा प्लाष्टिक सामग्री जफत गर्दै नगर प्रहरी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर २४ गते । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा प्लाष्टिकको प्रयोग भइरहेको पाइएको छ । धनगढीमा विगत तीन वर्षदेखि प्लाष्टिक बिक्री र प्रयोग निषेध रहे पनि प्रतिबन्धित प्लाष्टिक महोत्सवमा प्रयोग भइरहेको हो । 

महोत्सवको स्टलहरुमा प्लाष्टिकको झोला, रेस्टुरेन्टहरुमा प्लाष्टिकका चम्चालगायतका सामग्री प्रयोग भइरहेका छन् । महोत्सवमा प्लाष्टिकको सामग्री प्रयोग भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको नगर प्रहरी टोलीले खोजबिन गरेर त्यस्ता सामग्री जफत गरिरहेको छ । पहिलो दिन ११–१२ जनालाई कारबाहीसमेत गरेको नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीले बताउनुभयो । 

उहाँले व्यापारीहरुले थोरै प्लाष्टिक देखाएर अरु लुकाएकाले नगर प्रहरीले पछि पनि प्लाष्टिकको झोला, चम्चा खोजतलास गर्ने उल्लेख गर्नुभयो । “सामानमा आएको प्लाष्टिकसम्म ठीकै छ” धामीले भन्नुभयो, “तर, प्लाष्टिकको झोला र चम्चा लगायतको सामान प्रयोग हुनुभएन । त्यस्तो सामानको प्रयोग भएको पाइएपछि हामीले नियमानुसार कारबाही गरेका छौं ।” 

प्लाष्टिकबाट हुने प्रदूषण न्यूनीकरण र सफा, स्वच्छ सहर निर्माणका लागि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभरि २०७९ असोज १ गतेदेखि प्लाष्टिकको किनबेच र प्रयोग निषेध गरेको छ । प्लाष्टिक प्रयोग गरेको पाइएमा उपमहानगरपालिकाले नियमानुसार जरिवाना गर्ने गरेको छ । 

महोत्सवमा प्लाष्टिक प्रयोग गर्ने व्यापारीहरुलाई पहिलो चोटी एक हजार रुपियाँ जरिवाना गरेर उनीहरुलाई सतर्क पारेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । धनगढीभन्दा बाहिरबाट आएका व्यापारीले आफूसँगै प्लाष्टिक ल्याएको पाइएको छ ।