लीलाधर वली
घोराही, मङ्सिर २४ गते । दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । कुपोषण पहिचानको काम गढवा गाउँपालिका वडा नं. ६ को कुमाल गाउँबाट सुरु गरिएको छ ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा हेलन केयर, आइडिइको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाद्वारा सञ्चालित ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत कुपोषण पहिचानको काम सुरु भएको डेटा व्यवस्थापन अधिकृत पारस डिसीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था पत्ता लगाइने छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै पोषण पत्ता लगाइने र त्यसपछि बालबालिकाको सुधार गर्न योजना निर्माणमा सहयोग गरिने हेलन केयरका फिल्ड संयोजक अनिल केसीले बताउनुभयो ।
पाँच वर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयोजक केसीले बताउनुभयो ।
बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाएर उपचारमा सहयोग गर्नका लागि अभियानले सहयोग गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । गढवा गाउँपालिकामा कुपोषण अवस्था कमजोर रहेको भन्दै कुपोेषणको अवस्था पत्ता लगाएर पोषण सुधार गर्न सहजता हुने बताउनुभयो ।
आमालाई पोषण नपुगेका कारण बच्चामा कुपोषणको बढी देखिने गरेको बताउदै अध्यक्ष पोख्रेलले गर्भ अवस्थाबाट बच्चालाई पोषण पुर्याउन र गाउँपालिकालाई कुपोषण मुक्त पालिका बनाउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको बताउनुभयो ।