• ९ पुस २०८१, मङ्गलबार

कार्यालय सार्न खोज्दा विरोध

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २४ गते । रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका छन् । कार्यालयमातहतमा रहेका अधिकांश शिक्षालयले यसरी अलपत्र अवस्थामा छाड्न नहुने भन्दै विरोध गरेका हुन् ।

बाँकेको कोहलपुरमा आफ्नै भवन रहेको र बुटवलमा मुख्य कार्यालय रहेको यस कार्यालयलाई अहिले बसिरहेको क्षेत्रमा व्यवस्थापनका लागि निःशुल्क जग्गा तथा कार्यालयसमेत उपलब्धताको सुनिश्चित भए पनि कार्यालय प्रमुखकै स्वार्थमा थप खर्च थप्ने गरी दाङ लैजान थालिएको भन्दै कर्मचारीले नै विरोध गरेका हुन् । यसअघि दाङमा सम्पर्क कार्यालयसमेत राखिएको छ । सिटिइभिटी अन्तर्गतका अधिकांश नर्सिङ कलेज, इन्जिनियरिङ कलेज सबै रुपन्देही आसपासमा रहेका छन् ।  

कर्मचारीले बुटवलबाट कार्यालय सार्ने भए आफ्नै भवन रहेको कोहलपुर नै लैजानुपर्ने र नभए यहाँ भाडा नै तिर्नु नपर्ने गरी कार्यालय व्यवस्थापन गरेर राख्नुपर्ने सुझाव दिएका छन् ।

केही समयअघि कार्यालय व्यवस्थापनका लागि तत्कालीन कार्यालयका निर्देशक महेश भट्टराईसहितको टोलीले बुटवलको कार्यालयलाई व्यवस्थित राख्नका लागि रङ्गशालाको भवनमा दीर्घकालीन रूपमा र बुटवलको तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनटिआई) को भवनमा तत्कालीन रूपमा कार्यालय राख्ने गरी विकल्प खोजी भएको थियो । अहिले पनि केएनटिआईमा यसको कार्यालय रहेको छ ।

सङ्घीय अन्तर्गत रहेको यो कार्यालय सार्नका लागि केन्द्रले केही भनेको छैन । उल्टै खर्च कम गर्नका लागि केएनटीआईमा रहेको भवनमा सार्न भनिरहेको छ । अहिले यहाँ रहेको भवनको भाडा ५० हजार मासिक छ भने दाङमा लैजाँदा एक लाख थपिने भएको छ । प्राविधिक शिक्षालय फोरम लुम्बिनीका पूर्वअध्यक्ष गोविन्द खनालले सिटिभिटीको सम्बन्धन पाएका अधिकांश कलेज यही क्षेत्रमा रहेको र विद्यार्थी पनि धेरै यतैका भएकाले त्यसको नियामक निकायले यो क्षेत्र छाड्न खोज्नु उचित नभएको बताउनुभयो । 

नेपाल निजी प्राविधिक शिक्षालयका पूर्वकेन्द्रीय अध्यक्ष वसन्तराज खनालले यो कार्यालय अन्तर्गतका अधिकांश कलेज यही क्षेत्रमा भएकाले यहाँबाट कार्यालय सार्नु कुनै पनि हिसाबले उचित नहुने बताउनुभयो ।